सार्वजनिक यातायात प्रविधिमैत्री बनाउने मन्त्री मजर्हनको प्रतिबद्धता
हेटौंडा-बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।बुधबार नवलपुरको गैंडाकोटमा एमालेनिकट यातायात व्यवसयाीको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री महर्जनले डिजिटल प्रविधिमार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री महर्जनले नेपालको सार्वजनिक यातायातमा भएको निजीक्षेत्रको लगानी डुब्दै गइरहेको, यातायात मजदुर असुरक्षित महसुश गरी विदेशिनु परेको र जनताको सुरक्षितयात्राको अधिकार कुण्ठित हुँदै गइरहेको बताउँदै यसलाई सुधार गर्न कानुन निर्माण र नियमावली निर्माणको काममा प्रदेश सरकारले द्रुतताकासाथ काम गरिरहेको दाबी गरे ।
देशभरका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सिण्डिकेट खारेजीका नाममा खारेज गरिएका यातायात व्यवसायीका संघ, समितिलाई नवीकरण गर्न सर्वोच्च अदालतले खुल्ला गरिदिएको भएपनि अहिलेसम्म कतिपय व्यवसायीको सम्पति फुकुवा नगरेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको फुकुवाका लागि संघ सरकारसँग समन्वय गर्ने बताए । आफूले यातायात व्यवसायीको समस्यालाई नजिकबाट हेरिरहेको बताउँदै बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा छिट्टै समायोजन गरिने धारण राखे । मन्त्री महर्जनले ढुवानी क्षेत्रमा भारतीय सवारीसाधनको हस्तक्षेपका कारण नेपालीको लगानी संकटमा परेको बताउँदै त्यसलाई कुटनीतिकरुपमै निवारणका लागि पहल गरिने बताए । राइड शेयरिङको बढ्दो प्रभावले सार्वजनिक यातायात क्षेत्रलाई असर पारिरहेकाले सर्वोच्च अदालतको फैसलालाई ध्यानमाराख्दै तत्काल कानुनी दायरामा ल्याइने बताए ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नेपालमा सार्वजनिक यातायातको इतिहास उल्लेख गर्दै १०८ वर्षको इतिहासमा सार्वजनिक यातायातक्षेत्र अझैपनि उद्योगको रुपमा विकास हुन नसकेको र दिनानुदिन विग्रदै गइरहेको बताए । नेपाल यातायात मजदुर संघको अध्यक्ष धर्मराज भण्डारीले यातायात श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने बताए ।अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले यातायात मजदुर तथा व्यवसायीको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, गणतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाललगायतले आफ्ना धारणा राखेका थिए ।