कांग्रेस क्षेत्रीय समितिले सुन्न थाल्यो कार्यकर्ताको कुरा
हेटौंडा-पार्टीको माथिल्लो नेतृत्व र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीबारेको सुझाव तथा आगामी कार्यदिशाका बारेमा छलफल गर्न नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ले क्रियाशील जागरण तथा अन्तरसंवाद सुरुगरेको छ ।क्षेत्रीय समितिले मकवानपुरको कैलाश गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गरेको हो । क्षेत्रीय समितिले शुक्रबार कैलाश गाउँपालिकास्तरीय क्रियाशील भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेताका भाषण भन्दा पनि कार्यकर्ताका भावना र आगामी दिनमा अझै परिस्कृतरुपमा गरिने कार्यक्रमबारे सुझाव लिने र गुनासा भए सुनेर सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का सभापति लोकबहादुर मुक्तानले जानकारी दिए ।
क्षेत्र नम्बर २ भित्रपर्ने सबै ८ वटा स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिने मुक्तानले बताए । शुक्रबार कैलाश–३ स्थित कालिकाटारमा आयोजित कार्यक्रममा करिब २ दर्जन क्रियाशील कार्यकर्ताले निर्वाचित जनप्रतिनिधि र पार्टीका नेतृत्वका गतिविधि र आगामी कामका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आमजनताको हितमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । आमकार्यकर्ताको भावनालाई पार्टीको नेतृत्वले समेट्नुपर्ने उनले बताए ।
कार्यक्रमको उद्देश्यबारे बोल्दै पार्टी क्षेत्रीयसभापति मुक्तानले पार्टीका नेतृत्व र जनप्रतिनिधिले गरिरहेका काममा सहयोग गर्नुपर्नेमा जोड दिँदै कुनै गुनासा भए आन्तरिक रुपमा छलफल गर्नुपर्ने बताए । सबै एकजुट भएमात्रै सबैक्षेत्रमा सफलता प्राप्त गर्न सकिने उनको भनाइ थियो ।नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी बागमती प्रदेशसभापति बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर २ (ख) का सभापति रञ्जन कालाखेती, पार्टी जिल्ला सदस्य उदास भ्लोन, कैलाश गाउँपालिका उपसभापति मानबहादुर वाइबालगायतले मन्तव्य व्यक्त गरेका थिए । कैलाश गाउँपालिका भित्रका क्रियाशील सदस्य, पार्टीका विभिन्न तहका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।