प्रदेशप्रमुख देवकोटाले दिए माघीको शुभकामना
हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार परेको माघेसंक्रान्ती (माघी) पर्वको अवसरमा प्रदेशबासीमा शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु’ उनले शुभकामना सन्देशमा भनेका छन् । माघेसंक्रान्ती÷माघी पर्वलाई खासगरी थारु र मगर समुदायले मनाएपनि यो पर्व सम्पूर्ण नेपालीले आ–आफ्नै मौलिक तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारु समुदायले यसलाई अति उल्लासका साथ नयाँवर्षको रुपमा नाँचगान, आफन्त भेटघाट गरी मनाउने गर्दछन् ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, कुष्माण्डसरोवर, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनुराशीबाट मकरराशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकरसंक्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।
बिशिष्ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको प्रदेशप्रमुख देवकोटाको शुभकामना सन्देशमा उल्लेख छ । ‘यी पर्वहरुले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्ट पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्नुपर्दछ’ उनले शन्देशमा भनेका छन् । आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धिमार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भने शुभकामना प्रदेशप्रमुख देवकोटाले दिएका छन् ।