हेटौंडा–१० मा घरेलु उत्पादन प्रर्दशनी, साँस्कृतिक कार्यक्रम
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम १० नम्वर वडा कार्यालयको आयोजनामा हुन लागेको हो ।वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत् माघ ११ र १२ गते प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको छ । वडाध्यक्ष फूर्वादोर्जे लामाले स्थानीयले उत्पादन गरेको वस्तुलाई प्रवद्र्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सृजनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
टोल विकास संस्था, नगरसमन्वयन समिति, वडासमन्वयन समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब, राजनीति दललगायत विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम हुन लागेको वडाध्यक्ष लामाले बताएका छन् । प्रदर्शनीमा हेटौंडा नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानको प्रदर्शनी तथा बिक्री–वितरण गरिने वडाध्यक्ष लामाले बताए ।
उनका अनुसार, दुई दिनसम्म संचालन हुने प्रदशनीमा १०० वटा स्टल राखिनेछन् । व्यवसायीलाई स्टल निःशुल्क उपलब्ध गराइनेछ । साथै कार्यक्रममा स्थानीय जातजातिको भेषभुषा र सँस्कृतिलाई संरक्षण गर्ने उदेश्यले कला, सँस्कृति झल्किने नृत्य प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । नृत्य प्रतियोगितामा नगरका १९ वटै वडाका ईच्छुक कलाकारले सहभागिता जनाउन पाउने र नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३५ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, सान्त्वना हुने ४ समूहले प्रतिसमूह ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन ५७ सदस्यीय १ मूल समिति र ६ वटा उपसमिति गठन गरिएको वडाअध्यक्ष लामाले जानकारी दिएका छन् ।