गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दैनिक १५० मजदुर कार्यरत

साझाकुरा
२०८१ माघ ४, शुक्रबार १२:२२

हेटौंडा-भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्ररुपमा अघि बढेको छ । महानगरले संघ सरकार र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रंगशालाको हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल १५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी २१० पु¥याइने जनाउँदै उनले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताए । प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारीदिए ।

उनले भने, ‘हामीले १५ प्रतिशत काम सम्पन्न गरेका छौँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ ।’महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइन् । संघीय सरकारले चालु आर्थिक वर्ष विनियोजन गरेको २५ करोड भने हालसम्म नआएको उनले बताइन् । सहरी विकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उनले विश्वास व्यक्त गरिन् ।

महानगरप्रमुख दाहालले भनिन्, ‘दुई महिनाअघि अर्थमन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ । केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु ।’ प्रदेश र संघीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उनले बताइन् ।आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माण अगाडि बढाएको हो ।

रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुईवटा भीआइपी टावर, १० हजार सिट क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ ।धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि ५ हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर इन्जिनियर आचार्यले जानकारी दिए । गत असार २३ गते ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रंगशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेल यहाँ खेल्न सकिने छ ।

महानगरप्रमुख दाहालले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रंगशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताइन् । तीनैतहका सरकारको सहलगानीमा निर्माण हुन लागेको क्रिकेट रंगशालालाई महत्वका साथ हेरिएको छ । तीनै तहका सरकारको लगानीमा हुने विकास अयोजनामध्य यो नमूनाको आयोजना बन्नसक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*