एक महिनासम्म खेलकुद महोत्सव गर्दै हेटौंडा–४ वडा कार्यालय
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराकासाथ आउँदो माघ ९ गतेदेखि फागुन १७ सम्म वडास्तरीय, नगरस्तरीय तथा जिल्लास्तरीय खेलकुद महोत्सवको आयोजना गर्न लागिएको वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिए । हेटौंडा–४ मा सञ्चालित सामूदायिक तथा संस्थागत विद्यालयबीच प्रतिष्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभा उजागर तथा शारीरिक तथा बौद्धिक विकास गर्ने उद्देश्यले एक महिने खेलकुद महोत्सव आयोजना गर्न लागिएको सिग्देलले बताए ।
करिब १ महिनासम्म हुने खेलकुद महोत्सव वडा–४ को आयोजना र शैक्षिक गुणस्तर सुधार समितिलगायत विभिन्न विद्यालयको व्यवस्थापनमा सञ्चालन हुने जानकारी दिइएको छ । करिब एक महिनासम्म सञ्चालन हुने महोत्सवमा वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा विभिन्न खेलकुद आयोजना हुनेछन् । जसमा माघ ९ गते नवोदय माविमा हाजिरीजवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक राष्ट्रिय माविमा वकतृत्वकला प्रतियोगिता, माघ १४ गते सत्यमजेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुनेछ ।
माघ २५ गते भुटनदेवी माविमा निबन्धलेखन प्रतियोगिता, फाल्गुन २ गते विभिन्न दौड प्रतियोगिता, फाल्गुन ३ गते आधुनिक माविमा नगरस्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगरस्तरीय फुटबल प्रतियोगिता र नगरस्तरीय क्रीकेट प्रतियोगिता, फाल्गुन ५ गते सत्यममा टग अफ वार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगरस्तरीय बास्केटबल प्रतियोगिता, र फाल्गुन १६ र १७ गते नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।