राज्यबाट सुरक्षा प्रत्याभूति हुन नसकेको गुनासो
हेटौंडा- मकवानपुरका सञ्चारकर्मीले राज्यबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा मानवअधिकारको क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकका समस्या तथा चूनौती विषयक छलफलमा सहभागी सञ्चारकर्मीले निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण नरहेको गुनासो गरेका हुन् ।समाचारका विषयमा राजनीतिक दलबाटै गलतकार्यको पक्षपोषण हुने, अनियमितता, भ्रष्टाचारका विषयमा उठान गर्दा मानसिक दबाब खेप्नुपर्ने अवस्था रहेको सञ्चारकर्मीले बताएका छन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नहुँदा मानवअधिकार रक्षकको अग्रपङ्तिमा रहने पत्रकारले नै असुरक्षा महसुस गर्नुपरेको बताउँदै पत्रकारको पेशागत सुरक्षाप्रति सरकार गम्भिर बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले समाचार लेखेकै कारण पत्रकार जेलसम्म जानुपर्ने अवस्था आउनु दुःखद रहेको बताए । सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले सञ्चारगृहले अझैपनि महिला पत्रकारका क्षमतामा प्रश्न उठाउने गरेको बताइन् ।राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवनकुमार भट्ट, मानवअधिकार अधिकृत कृष्णप्रसाद मिश्र, केन्द्रीय प्रतिनिधि, मकवानपुरका क्रियाशील सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।