हेटौंडाको १ नम्बर वडालाई बालमैत्री घोषणा गरिँदै

साझाकुरा
२०८१ माघ ९, बुधबार १२:०४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । हेटौंडा–१ ले निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीबारे जानकारी दिएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ११ गते शुक्रबार १ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराकासाथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमध्ये केही सूचक पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए ।

यस वडामा सामुदायिक, सँस्थागत र बालविकास केन्द्रसहितका ६ वटा विद्यालय संचालनमा छन् । साथै समुदाय स्तरमा १८ वटा बालसमूह, र १ वडा बालसञ्जाल रहेको छ । जसमा ३ सय ६३ जना बालबालिका आवद्ध छन् । यस अभियानमा ८ बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्दार गरी पारिवारिक मिलन गरिएको छ ।

वडामा बालअधिकार समिति, बालसमूह, बालसमूह सञ्जाल, टोलविकास सस्था, युवा क्लब, आमा समूह, वन समूह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रियाशील छन् । यो वडालाई यसअघि पूर्णखोप वडा, पूर्णसाक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*