बाढीपहिरोपीडित थापा दम्पतीले पाए घर

साझाकुरा
२०८१ माघ ९, बुधबार १२:०६

हेटौंडा-बाढीपहिरोको कारण विस्तापित बनेका ८७ वर्षीय दिलबहादुर थापा दम्पतीले ३१ वर्षपछि घर पाएका छन् । हेटौंडा उपमहानगरपालिका–४ स्थित कार्की फाउन्डेसनले हेटौंडा उपमहानगरपालिका–१५ सिखरपानीमा ८ धुर जग्गा खरिद गरेर घर बनाइदिएको हो ।भान्सा, शौचालयसहित दुईवटा कोठाको पक्की घर निर्माण गरेर थापा परिवारलाई मंगलबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । लौरोको सहारामा हिँड्ने थापा दम्पती सुविधायुक्त पक्की घरमा बस्न पाउँदा खुशीले आँखाबाट आँशु पनि झारे । दिलबहादुरकी पत्नी ६९ वर्षीया राधिकाले पनि गृहप्रवेश गर्दै खुशीको आँशु झारिन् । उनले घर बनाइदिने कार्की फाउन्डेसनका संचालक धीरज कार्कीलाई खुशी हुँदै धन्यवाद दिइन् ।

२०५० सालको बाढी पहिरोले मकवानपुरको आमभन्ज्याङमा रहेको घरजग्गा सबै बगाएपछि उनीहरु सुकुम्वासी बनेका थिए । शक्ति र पहुँचविहीन थापा परिवारले त्यतिबेला सरकारबाट केही पनि राहत पाएनन् । सुकुम्वासी बनेपछि भौतारिँदै हिँडेका थापा परिवार हेटौंडा उपमहागनगरपालिका–४ कमलडाँडास्थित अर्काको जग्गामा कतरेघर बनाएर बसेका थिए । सामाजिक सुरक्षा भत्ताले जीवन गुजार्दै आएका यो परिवारको साथमा एक छोरा छन् । उनी पनि बेरोजगार छन् । छोरीको विवाह भइसकेको छ ।

घामपानी छिर्ने साँघुरो कतरेघरमा बस्दै आएका थापा दम्पतीलाई ८ धुर जग्गामा कार्की फाउन्डेसनले घर बनाइदिएको हो । जग्गासहित २९ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिदिएको फाउन्डेससनका संचालक कार्कीले भने, ‘जग्गालाई १६ लाख र घर बनाउन १३ लाख गरी २९ लाख रुपैयाँ लाग्यो ।’वृद्ध थापा दम्पतीलाई घर बनाएर हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्त खुशी भएको उनले बताए । घर हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तान, १६ का वडाध्यक्ष रामकृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*