विपद् व्यवस्थापनमा १३ करोड बढी खर्च
हेटौंडा-गत असोजको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले बागमती प्रदेश बढी प्रभावित भएको छ । असोज १०, ११ र १२ गतेको वर्षाका कारण ठुलो जनधनको क्षति भएको थियो ।विपद् व्यवस्थापन अन्तर्गत विभिन्न कार्यमा प्रदेश सरकारले जिल्ला विपद्कोष र स्थानीय तहको विपद् कोषमार्फत् १३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले मनसुनजन्य विपद् पूर्वतयारी, खोज, उद्दार तथा राहत र पुनःस्थापनाका लागि यो रकम खर्च गरेको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रतिवेदन अनुसार यस विपद्बाट काभ्रेमा बढी मानवीय र भौतिक क्षति भएको देखिन्छ ।
काभ्रेमा असोज १० देखि १२ गतेसम्म विपद्का घटनामा परेर ७९ जनाको मृत्यु भएको छ भने धादिङमा ३९ जना, ललितपुरमा ४६, काठमाडौंमा २०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा १०, दोलखामा ७, भक्तपुरमा ५, सिन्धुलीमा २ र रामेछापमा १ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । बाढी–पहिरोमा प्रदेशभरबाट १४ जना बेपत्ता भएका छन् भने १६८ जना घाइते भएका थिए ।
विपद्का घटनामा बागमती प्रदेशमा १० अर्ब २३ करोड ५६ लाख ५४ हजार रुपैयाँको भौतिक क्षति भएको छ । विपद्बाट भक्तपुरमा १ करोड १ लाख २० हजार रुपैयाँको भौतिक क्षति भएको छ भने ललितपुरमा १ अर्ब ४३ करोड ६९ लाख १२ हजार रुपैयाँ, काठमाडौंमा ४ अर्ब १४ करोड ६६ लाख ५ हजार रुपैयाँको भौतिक क्षति भएको छ ।यस्तै, सिन्धुलीमा १ अर्ब ५९ करोड ३८ लाख ८८ हजार रुपैयाँ, रामेछापमा २ करोड १ लाख ३८ हजार रुपैयाँ, दोलखामा ११ करोड ५० लाख रुपैयाँ, सिन्धुपाल्चोकमा १ अर्ब ९४ करोड रुपैयाँ र काभ्रेमा ७३ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
रसुवामा ३९ लाख ८५ हजार रुपैयाँ, नुवाकोटमा ९९ लाख ५५ हजार रुपैयाँ, चितवनमा २ करोड ५६ लाख ३५ हजार रुपैयाँ, मकवानपुरमा २० करोड २९ लाख ६३ हजार रुपैयाँको भौतिक क्षति भएको छ । धादिङमा भएको क्षतिको विवरण भने प्राप्त हुन नसकेको बताइएको छ ।प्रतिवेदनका अनुसार विपद्बाट प्रदेशभर ४२ वटा पुल र २ हजार ५३५ घर, ९३० गोठ, ६६ वटा विद्यालय भवन, ३७० टहरा पूर्णरुपमा क्षति भएका छन् । ४८ वटा पुल आंशिकरुपमा क्षति भएका छन् भने ५ हजार ७९७ घर, १८९ विद्यालयमा आंशिक क्षति भएको छ । विपद्बाट ४ हजार ६६५ पशुचौपायाको क्षति भएको छ ।