अफ्रिकन स्वाइन फिभरबाट १९० बंगुर मरे

साझाकुरा
२०८१ माघ ९, बुधबार १२:३०

हेटौंडा- मकवानपुरमा अफ्रिकन स्वाइन फिभरको प्रकोप फैलिएको छ । मङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौंडा र भीमफेदीमा स्वाइन फिभरबाट १९० बंगुर मरेको पशुसेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ ।काठमाडौंमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमूनामा यहाँको बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशुसेवा कार्यालय मकवानपुरका कार्यालयप्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । मकवानपुरको हेटौंडा–१, ११, १७ नं. वडा र भीमफेदी गाउँपालिका वडा नं. १ मा व्यावसायिकरुपमा पालिएका बंगुर अफ्रिकन स्वाइन फिभरको कारण मरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलमा व्यावसायिक बंगुरपालन गरिरहेका आधुनिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक सूर्य अधिकारीको फर्ममा ९० वटा, हेटौंडा–११ मा ३ वटा र हेटौंडा–१७ मा ७ वटा र भीमफेदी गाउँपालिका वडा नं. १ मा रहेको निरु कृषि तथा पशुपन्छी फर्ममा ९० वटा बंगुर मरिसकेको पशुसेवा कार्यालय मकवानपुरका पशुचिकित्सक डा.विजय पौडेलले जानकारी दिए ।

अफ्रिकन स्वाइन फिभरबाट गोठै रित्तिएपछि अधिकारी अहिले चिन्तामा छन् । एक दशकको मिहेनत गरेर आजको अवस्थामा आइपुगेका उनी अब के गर्ने ? भन्ने सोचमा परेका छन् । उनी जस्तै अन्य बंगुरपालक किसान पनि चिन्तामा परेका छन् । मधेस प्रदेश हुँदै मकवानपुर भित्रिने नाका हेटौंडाको रातमाटे, बागमतीको राईगाउँ र चितवनसँग जोडिएको लोथरक्षेत्रमा कडाइ गर्नुपर्नेमा कार्यालयप्रमुख ठाकुरले जोड दिए । उनले होटलको खानाका कारणबाट पनि रोग सर्ने सम्भावना हुने बताए ।

अफ्रिकन स्वाइन फिभरका कारण बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तामा परेका हुन् । अफ्रिकन स्वाइन फिभर लागेमा बंगुरमा उच्च ज्वरो आउने लगायतको लक्षण देखापर्ने र एक दुई दिनभित्र मर्ने गरेको जनाइएको छ । अफ्रिकन स्वाइन फिभर फैलिएमा एकैपटक धेरै बंगुर मर्ने गरेकाले सतर्कता अपनाउन पशु कार्यालयले बंगुरपालक कृषकलाई आग्रह गरेको छ ।जिल्लामा करिब पाँच सय बंगुरपालक किसान रहेको पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । अफ्रिकन स्वाइन फिभर नेपालमा पहिलोपटक २०७९ जेठमा पुष्टि भएको थियो । बागमती प्रदेशमा एक हजार बढी सुँगुर बंगुर अफ्रिकन स्वाइन फिभरका कारण मरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*