बागमतीमा डेढ वर्षभित्र ५ सहकारी समस्याग्रस्त घोषणा
हेटौंडा- बागमती प्रदेश सरकारले विगत डेढ वर्षको अवधिमा ५ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । बचतकर्ताको उजुरी तथा गुनासो, संस्थामा आएको वित्तीय संकटलाई आधार बनाएर प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको बताइएको छ ।सहकारीलाई समस्याग्रस्त घोषणा गरेर प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले काम गरिरहेको छ । २०८० सालदेखि २०८१ पुससम्म ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन भएर बनेको नवगठित सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, काठमाडौंको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र ललितपुरको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।
गत भदौ २१ मा पहिलो पटक सिभिल सहकारी, २०८१ कात्तिक ११ मा दर्शन सहकारी र पुस २८ मा नेशनल नमोबुद्ध, लालीगुँरास र सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । समस्याग्रस्त घोषणा गरिएसँगै नेशनल नमोबुद्ध र लालीगुँरास सहकारीमा प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंले शिल गरिसकेको छ । कार्यालयले सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिक्स नियन्त्रणमा लिएर खाता रोक्का गरिसकेको छ ।
गत २८ पुसमै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा कार्यालयले हालसम्म शिल गर्न सकेको छैन । एउटै नामका ३ सहकारी देखिएको र यो विषय मिलाउनु पर्ने भएकाले सुमेरु सहकारीमा शिल गर्न कठिन भएको बताइएको छ । काठमाडौं, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौतासमेत भएकाले शिल गर्न समस्या भएको हो । कार्यालयका प्रमुख महेश आचार्यका अनुसार समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान भएको र बिहीबार शिल गरी आवश्यक कागजात तथा सिस्टम सिज गरिनेछ ।
सोही अनुसार हेटौंडामा छलफल भइ हाललाई ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने तयारी रहेको उनले बताए । एकीकरणको सहमति भए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौंको सुमेरु सहकारीमा शिल नगर्ने निर्णय भएको आचार्यको भनाइ छ । तत्कालका लागि ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने र अनुसन्धानको क्रममा संलग्नता देखिए काठमाडौंको सुमेरुमा पनि शिल गरेर अघि बढ्ने निर्देशन प्राप्त भएको उनले बताए ।