उपमहानगरमा दैनिक तीन करोड ७० लिटर खानेपानी आपूर्ती

हेटौंडा, ११ माघ÷ हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको बर्तमान अवस्थाबारे अन्र्तक्रिया गरिएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिंचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल, वडाअध्यक्षहरुलगायत बिभिन्न क्षेत्रका सरकोकारवालाबीच अन्तरक्रिया गरिएको हो ।
बोर्डले हेटौंडा उप–महानगरको १ देखि १९ वडामध्ये वडा नं. २, ४, ५, ६, ७, ८, ९, १०, १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धारामार्फत् ८ घण्टा पानी वितरण गरिरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडाको बजारक्षेत्रमा २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको बताइएको छ ।
बोर्डमा हालसम्म १६ वटा उपभोक्ता समिति हस्तान्तरण भइसकेको र नगरक्षेत्रको वडा नं. ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ । हेटौंडा उपमहानगरले नगरबासीलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भदौदेखि न्युनतम १० हजार लिटर पानी महशुल निःशुल्क गर्दै आएको छ । मासिक १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ता लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगरक्षेत्रभित्र १५ वटा डिपट्यूवेल निर्माण गरी पानी उत्पादन गरेको छ ।
मकवानपुरगढीमा ३ वटा, भीमफेदीमा २ र हेटौंडा–९ मा १ गरी ६ थानमा समवेल निर्माण आफ्नै स्रोतबाट गरेको अध्यक्ष बिष्टले जानकारी दिए । करिब ४ सय किलोमिटर पाइपलाइन विस्तार गरेको छ । संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभरहेड पानीट्यांकी एक, भूमिगत पानीट्यांकी ३ वटा, डिपबोरिङ ४ वटा, पाइपलाइन विस्तार र विद्युतिकरणको गरिएको अध्यक्ष विष्टले बताए ।
संघीय सरकारको करिब ८ करोडको लगानीमा हेटौंडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्यांकी, कार्यालय भवन तथा पालेघर निर्माण, मेन तथा शाखा पाइपलाइन विस्तार र विद्युतिकरणको कार्यअन्र्गत अधुरो रहेको योजना सम्पन्न गर्न बोर्डबाट करिब ३ करोड रुपैयाँ लगानी गरी योजना सम्पन्न गरिएको अध्यक्ष बिष्टले जानकारी दिएका छन् । बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौंडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौंडा–१६ मा डिपट्यूवेल, त्रिशुलेमा ५ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माणकार्य सम्पन्न गरिएको बताइएको छ ।