चार महिनापछि प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस

साझाकुरा
२०८१ माघ १२, शनिबार ११:०६

हेटौंडा-चार महिनादेखि ठप्प बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न प्रदेश मन्त्रिपरिषद्ले प्रदेशप्रमुखलाई सिफारिस गर्ने निर्णय भएको छ ।शुक्रबार बसेको मन्त्रि परिषद् बैठकले आगामी शुक्रबार माघ १८ गते ११ बजे प्रदेशसभाको १५ औं अधिवेशन बोलाउन प्रदेशप्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेशप्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।

प्रदेशसभा ठप्प भएको चार महिनापछि सरकारले प्रदेशसभा बैठक राख्ने तयारी गरेको हो । लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यसअवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसमा भवन नीति–२०८१ र अपा·ता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गर्ने निर्णय गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापनलगायतका काम गर्न निर्देशन दिएको कानुनमन्त्री लामिछानेले जानकारी दिए ।

मन्त्रिपरिषद्ले प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री लामिछानेले बताए । प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्र्दभमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको छ । कानुनमन्त्री लामिछानेका अनुसार प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*