हेटौंडामा आजबाट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

हेटौंडा- हेटौंडामा २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८१ हुने भएको छ । शनिबार नेपाल बुद्धिचाल महासंघले पत्रकार सम्मेलन गर्दै आइतबारबाट सुरु हुने २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबारे जानकारी गराएको छ । महासंघका अध्यक्ष हीराकाजी महर्जनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको र आइतबार प्रस्तिपर्धा सुरु गरिने बताए । हामीले खेलाडी छनोट गरिसक्यौं, भोलिबाट राउण्ड रोविन चरणमा खेल खेलाइनेछ, महासचिव लामाले भने ।
अघिल्लो वर्षका विजेताहरु र राष्ट्रिय ‘बी’ छनोटबाट भएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए । एघार चरणमा खेलाइने खेल १९ गतेसम्म सञ्चालन हुने महासचिव लामाले बताए । ‘निर्णायक, खेलाडी तथा अफिसियल हेटौंडा आइसक्नुभयो, आवास र खानाको व्यवस्था आयोजकले गरेको छ, प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान छ,’ महासचिव लामाले भने ।
प्रतियोगितामा विजेताले श्रीलंकामा मार्च १० गतेदेखि हुने एसियन जोनल गेमका लागि सहभागिता पाउनुका साथै एयर टिकट समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने खेलाडीले भने क्रमशः १५ हजार र १० हजार नगद प्राप्त गर्नेछन् ।२४ औं राष्ट्रिय स्वर्णपदक झापाका राजन सुवेदी र ९ औं राष्ट्रिय स्वर्णपदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेका थिए । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महर्जन, महासचिव लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।