खानेपानी मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षा

हेटौंडा- बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगतिको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले प्रदेशको राजधानी हेटौंडामा सोमबार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुस मसान्तसम्ममा सम्पन्न गरेका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गरेको हो ।कार्यक्रममा प्रदेशको १३ जिल्लाका जलस्रोत तथा सिचाईँ डिभिजन कार्यालय, भूमिगत जतस्रोत तथा सिचाईँ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधिले आ–आफ्नो कार्यालयले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खानेपानी, उर्जा तथा सिचाईँमन्त्री श्यामकुमार खड्काले खानेपानी तथा सिचाईँ जनसरोकारको विषय भएकोले जनतासँग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।डिभिजन प्रमुख र महाशाखाका प्रमुखले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री खड्काले जो सक्रिय छन् उसको प्रगति देखिएको र जो निस्क्रिए छन् उसको प्रगति न्यून देखिएको उल्लेख गरे । उनले सबैले आफ्नो कार्यालयमा परेको बजेटलाई समयमा नै सदुपयोग गर्नु आग्रह गरे ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मोहनकुमार शाक्यले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव शाक्यले मन्त्रालयको कुल बजेटको ३७ दशमलव ६७ प्रतिशत कार्यसम्पन्न भएको बताए । उनका अनुसार, यो अवधिमा कुल (पुँजीगत) प्रदेश र संघतर्फको कुल बजेटमा १० दशमलव ०५ प्रतिशत प्रगति भएको छ भने वित्तीय प्रगति ११ दशमलव ४८ र भौतिक प्रगति ३० दशमलव ०३ प्रतिशत रहेको छ ।