सोनाम ल्होसारको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त

हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ देवकोटाको शुभकामना सन्देशमा भनिएको छ । नेपालमा खासगरी मध्यभागको हिमाली, उच्चपहाडी र पहाडी भूभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ ।
यो पर्वमा कुलपूजा र प्रकृतिपूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङसेलो नाच प्रस्तुत गरिन्छ ।घर, बस्ती सफा राख्नुका साथै बुद्धका तस्बिर अंकित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरुमा पूजा गरिन्छ । बौद्धपरम्पराका रीतिरिवाजलाई आधार मानी हाँसीखुसीका साथ ल्होसार मनाइन्छ ।
प्रदेशप्रमुख देवकोटाले चाडपर्वहरु साँस्कृतिक सम्पन्नताका परिचायक भएको उल्लेख गर्दै यस्ता पर्वले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पु¥याउने सन्देशमा उल्लेख छ ।‘हाम्रा चाडपर्वहरु सभ्य, सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन्’ शुभकामना सन्देशमा भनिएको छ ‘सोनाम ल्होसारले तामाङ समुदायलगायत सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास भित्राउन सफल रहोस् ।’