महासंघले जित्यो मिडिया कप फुटसल प्रतियोगिताको उपाधि

हेटौंडा- मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ । ५ औं संस्करणको रेडियो मकवानपुर कप मिडियास्तरीय ‘मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि पत्रकार महासंघ मकवानपुरको टिमले जितेको हो ।रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरगढी गाउँपालिका–३, स्थित मक्राञ्चुलीको फुटसलमैदानमा भएको फाइनल खेलमा पत्रकार महासंघ मकवानपुरले थाहा–नवयुग मिडियालाई १२–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुग विरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो ।
पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघको टिमलाई सचिव केशव समर्पणले व्यवस्थापन गरेका थिए । त्यसअघि महासंघको टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सीमित भएको थाहा–नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नाम दर्ता भएका थप ४ टिम सहभागी भएनन् ।
प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ । गतवर्ष भएको चौंथो संस्करणको फुटसल प्रतियोगिताको उपाधि टिम एन्ट्रान्सले जितेको थियो । प्रतियोगिताको उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई मंगलबार रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रम नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।