हुप्रचौरमा जारी खेलकुद महोत्सवको उद्घाटन

साझाकुरा
२०८१ फाल्गुन ३, शनिबार १३:०३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालयको आयोजनामा जारी दोश्रो खेलकुद महोत्सव–२०८१ को शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।९ माघबाट भइरहेको खेल महोत्सवको शुक्रबार हेटौंडा–४, स्थित हुप्रचौरमा बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गरे । उनले विद्यालय तहबाटै विद्यार्थीमा खेल भावनाको विकास गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रको उचित व्यवस्थापन र विकास गर्नसके भावी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने उनले बताए ।

कार्यक्रममा बोल्दै हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलले ठूला भौतिक संरचना मात्रले विकासलाई पूर्णता दिन नसकिने उल्लेख गरे । उनले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु आजको आवश्यकता रहेको बताए । कार्यक्रमको अबसरमा खेल व्यवस्थापन गर्ने विद्यालयलाई खेल सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

आधुनिक राष्ट्रिय माविले भलिबल, भुटनदेवी माविले क्रिकेट र नवोदय शिशुसदनले बास्केटबल प्रतियोगिताको व्यवस्थापन गरेको हो । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, उपमहानगरपालिका पूर्वनगरप्रमुख हरिबहादुर महत, वडा–५ का वडाअध्यक्ष सुशील घिमिरे, वडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*