सवारी दुर्घटनाबाट मासिक २ सय जनाको निधन

हेटौंडा-चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्णपरिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।गृह मन्त्रालयका अनुसार वि.सं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएकोथियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सवारी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सवारी दुर्घटनाको संख्या घटेपनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो । गत मङ्सिरको तुलनामा पुसमा सवारी दुर्घटना बढेपनि मृत्यु हुनेकोसंख्या घटेको गृह मन्त्रालयकाप्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सवारी दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सवारी दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ ।अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सवारी दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौं उपत्यका) बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।