राससको सम्पादकीय स्वतन्त्रतालाई अझ व्यवस्थित गर्नुपर्छ

साझाकुरा
२०८१ फाल्गुन ७, बुधबार १२:४४

हेटौंडा-राष्ट्रिय समाचार समितिको ६४ ओें वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रिया भएको छ ।मुलुकको सबैभन्दा पुरानो समाचार एजेन्सी राससको बागमती प्रदेश कार्यालयले आयोजना गरेको अन्तरक्रियामा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द लामिछानेको प्रमुख आतिथ्यता एवम् उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको सञ्चार क्षेत्रमा राससले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले विगतमा पत्रकारिता क्षेत्र मर्यादित रहेपनि अहिले सामाजिक सञ्जालको कारण चुनौति थपिएको बताए । सरकारले रासस, गोरखापत्र जस्ता मिडियालाई स्वतन्त्र ढंगले छोड्नुपर्ने उनको भनाई छ । अध्यक्ष अधिकारीले समाजमा नागरिकको लागि पत्रकाारिता गरिने भएकाले राससमा उत्तरदायी पत्रकारिताको अभ्यास देखिनुपर्ने बताए । राससको सम्पादकीय स्वतन्त्रतालाई अझ व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले राससले आफैंले आफ्नो कामको समीक्षा गर्नुपर्ने बताए । राससको कारण निजी मिडियामा काम गर्ने सञ्चारकर्मीलाई चुनौती थपिएको उनको भनाई छ । यद्यपि राससले जति समाचार दिनुपर्ने हो त्यति दिन भने नसकेको उनको बुझाई छ । त्यसैगरी पत्रकार पोष्टराज अधिकारी कुमारले समाजमा लुकेर बसेको विषयवस्तु उठाउन रासस अझै पनि चुकेको बताए । राससलाई आफ्नो मान्छे भर्ती गर्ने संस्थाको रुपमा लैजान नहुने उनको धारणा छ ।

त्यसैगरी सन्चारिका समूह बागमती प्रदेशका अध्यक्ष सरिता दाहालले राससले सरकारको पक्षपोषण मात्र गर्न नहुने बताइन् । निजी क्षेत्रका मिडियाको समेतरोेलमोडल बन्ने गरी रासस अगाडि बढ्नुपर्ने उनको भनाई छ ।राससले सरकारको मात्र भजन गाउँछ भन्ने गलत भ्रमलाई चिर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माले आवाजविहिनहरुको आवाज राससले बोल्नुपर्ने बताए ।

अन्तरक्रियाका प्रमुख अतिथि मन्त्री लामिछानेले भ्रष्टचारको न्यूनीकरण र विकृति, विसंगति अन्त्यको लागि सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । मन्त्री लामिछानेले राज्यसंयन्त्रलाई सञ्चारक्षेत्रले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिए । सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकता कायम गर्न सञ्चारक्षेत्र जिम्मेवार भूमिकामा हुनुपर्ने उनको भनाई छ । यसको लागि राष्ट्रिय समाचार समितिले खेलेको भूमिका प्रशंसनीय रहेको मन्त्री लामिछाने बताए ।

मन्त्री लामिछानेले राससले पहिलो खबर भन्दा पनि सही खबर दिने नीतिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । पछिल्लो समय एआईले विकृति ल्याएको भन्दै त्यसतर्फ पनि सचेत रहन समेत मन्त्री लामिछानेले आग्रह गरे । कार्यक्रममा राससका बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माले राससले उपलब्ध गराउँदै आएको सेवाबारे प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*