२५ लाख फाइलको २ वर्षभित्र विद्युतीय अभिलेख राखिसक्ने

हेटौंडा-बागमती प्रदेश सरकारले दुई वर्षभित्र सक्नेगरी यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेख राख्न सुरु गरेको छ ।भौतिकरुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख राख्न प्रदेश सरकारले सुरु गरेको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालयप्रमुख नेत्रप्रसाद भट्टराईले भौतिकरुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवाप्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको बताए । उनले विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेख हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए ।
प्रमुख भट्टराईले २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम सुरु भएको समेत बताए । ‘यो अहिले लगभग २५ लाखको हाराहारिमा बागमती प्रदेशका यातायात कार्यालयमा सवारीसाधनका अभिलेख छन् । यी अभिलेख अहिले नहुँदाखेरि अथवा यी अभिलेख भौतिक रुपमा रहँदाखेरि कतिपय अभिलेख नष्ट हुने, हराउने ढुसी लाग्ने जनताले हैरानी भोग्नुपर्ने अनि भौतिकरुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरु छन् यसबाट मुक्ति दिनका लागि मन्त्रालयले डिजिटलाइजेसन गर्ने यो मुख्य कार्यक्रम भएको’ बताए ।
‘यो लगभग दुई वर्षभित्रमा सबै कामहरु सम्पन्न गर्ने भनिएको छ, यसैका लागि एक सय जना डेटा इन्ट्रीकर्ताहरुलाई प्रतिष्पर्धात्मक प्रणालीबाट नियुक्ति गरिएको छ’ उनले भने । कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारीधनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए । विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाई छ ।
कार्यालयप्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताए । जबसम्म कर कार्यालयमा गएर लगतकट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनिकै हुने भएकाले सरकारी बाँकीसरह असुल गर्न सकिने उनको भनाई छ ।