पार्टीभित्र फरक विचार राख्नेलाई निरुत्साहित नगरौँ

हेटौंडा-नेकपा एमालेको जनवर्गीय संगठन नेपाल बुद्धिजीवि परिषद् मकवानपुरको दशौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ ।परिषद्को केन्द्रीय महासचिव गजेन्द्र थपलियाको प्रमुख आतिथ्यता एवम् जिल्लाअध्यक्ष मोहनप्रसाद शर्माको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीले जनवर्गीय संगठन बलियो भएमात्र पार्टी बलियो हुने बताएका थिए । एमालेले लिएको मिसन २०८४ लाई सफल पार्न जनवर्गीय संगठनको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसप्रमुख यम सिलवालले नेतृत्वमा बसेकाहरुमा नैतिकता नदेखिएको बताए । पेशा अनुसारको आयश्रोत छ कि छैन भन्ने, त्यसमा समीक्षा गर्नुपर्ने उनको भनाई छ । चुनावमा एउटा कुरा र पछि अर्को कुरा गर्ने परिपार्टीले पार्टीलाई घाटा हुने उनको बुझाई छ ।त्यसैगरी नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष दीपक अधिकारीले नेताहरुले आफ्नो कुरा मात्र भन्ने भन्दा पनि कार्यकर्ताको कुरा सुन्नुपर्ने बताए । विगतको चुनावमा पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेखित कार्यक्रम कति पूरा भए ? त्यसमा विचार गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय जनताले संघीयता खर्चिलो भयो, बोझिलो भयो भन्ने गरेको भन्दै अध्यक्ष अधिकारीले वास्तविक रुपमै संघीयतालाई धान्न सकिन्छ कि सकिंदैन ? विश्लेषण गर्नुपर्ने बताए ।
पार्टीभित्र फरक विचार राख्नेलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा उनको जोड छ । फरक विचारलाई निस्तेज गर्दा समाज, पार्टी र राष्ट्रको लागि नै हानिकरक हुने उनको भनाई छ । त्यसैगरी कार्यक्रमका अन्य वक्ताले युवाको विदेश पलायनलाई रोक्न नेताहरुले राजनीतिक वितृष्णालाई चिर्ने गरी काम गर्नुपर्ने बताए ।त्यसैगरी कार्यक्रमका प्रमुखवक्ता नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टीले लिएको मिसन २०८४ अभियानलाई सफल तुल्याउन जनवर्गीय संगठनको जिम्मेवारी महत्वपूर्ण हुने जिकिर गरे । समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै ऐक्यबद्धता आवश्यक रहेको उनको भनाई छ ।
परिषद् अध्यक्षमा घिमिरे
नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत चयन भएका छन् । बुधबार हेटौंडामा भएको परिषद्को १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले परिषद्को उपाध्यक्षमा संगम चौलागाईं, सचिवमा दीपक अधिकारी, सहसचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा राधिका शर्मालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यमा रविन ढुंगाना, नवीन मिश्र, बिनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, संगीता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीकाप्रसाद कँडेल, सूर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम र शम्भुप्रसाद हुमागाईं चयन भएका छन् ।
बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष शर्माको अध्यक्षतामा अधिवेशन भएको थियो । अधिवेशनमा नेकपा एमाले मकवानपुरका उपसचिव आरती पाठक, पार्टी जनसंगठन प्रमुख सन्तोष पौडेललगायत परिषद्का प्रदेश तथा केन्द्रीय पदाधिकारीको सहभागिता रहेको थियो ।