अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल

साझाकुरा
२०८१ फाल्गुन ८, बिहीबार ११:०७

हेटौंडा- हेटौंडामा सुरु भएको पहिलो संस्करणको अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौंडाको ८ र १८ नम्बर वडाले विजययात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा हेटौंडा–१८ ले ७ नम्बर वडालाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफको छैठौं मिनेटमा अनमोल मिजारले गरेको गोल नै १८ को जितमा निर्णायक बन्यो । उनी नै खेलको म्यान अफ द म्याच बने । दोस्रो खेलमा हेटौंडा १३ लाई टाइब्रेकरमा स्तब्ध बनाउँदै हेटौंडा ८ ले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो ।

खेलमा ८ ले नै सुरुवाती अग्रता लिएको थियो । ८ का शिशिर भण्डारीले दोस्रो हाफको आठौं मिनेटमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २८ औं मिनेटमा १३ नम्बर वडा खेलमा फर्कियो । दाहिनेतर्फबाट आएको बललाई प्रितम थिङले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।

प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी प्रतियोगिता सुरु गरिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपमका पिता समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यबाहक मेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, ५ नम्बर वडाअध्यक्ष सुशील घिमिरे, ६ नम्बर अध्यक्ष विष्णुबहादुर दाहाल, ८ नम्बर अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष शुकराम केसी, ११ का अध्यक्ष जुना दाहाल, १५ का अध्यक्ष सुनिल मोक्तान, १८ का अध्यक्ष अनिल बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*