कैलाशमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

हेटौंडा-कैलाश गाउँपालिकामा बुधबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । भवानी माध्यमिक विद्यालयको खेलमैदानमा दुईदिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको थियो ।
अध्यक्ष मोक्तानले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ पहिलोपटक खेलकुद विकास समितिमार्फत प्रतियोगिता गरिएको बताए । गतवर्ष कैलाशले जिल्लास्तरीय प्रतियोगितामा स्वर्णपदक एक, रजतपदक तीन र कास्यपदक दुई जित्न सफल भएका र सोहीअनुरुप अहिले विजयी भएर जिल्लामा गई छात्रछात्राले विभिन्न पदक जित्न सफल हुनेछन् भन्ने विश्वास लिएको उनले बताए ।
प्रतियोगितामा तीन विधाका खेल खेलाईने जनाइएको छ । भलिबल, मार्सलआर्ट र एथ्लेटिक्स खेलबीच प्रतिस्पर्धा रहने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लमजम्प, सर्टपुट लगायत अन्य खेल रहेका छन् भने छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सलआर्ट रहने समितिका सदस्यसचिव शिक्षाअधिकृत समीर जोशीले बताए ।
छनोट भएका विद्यार्थीलाई जिल्लामा खेल्न पठाइनुका साथै पदकको आधारमा विद्यालयलाई राष्ट्रपति रनिङशिल्ड प्रदान गरिने जोशीले बताए । प्रतियोगितामा कमलादेवी मावि कैलाश–२, भवानी मावि कैलाश–३, व्यास मावि कैलाश–६, धुवाङ मावि कैलाश–८, कालिका मावि कैलाश–९ र रत्नज्योति मावि कैलाश–१० का विद्यालयले सहभागिता जनाएको जोशीले बताए । विजेतालाई विहीबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिनेछ ।