अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता:नेपाल एक खेलअगावै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

काठमाडौं- नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा नेपालले लेबनानाई १–० ले पराजित गरेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र म्यानमारले लगातार दुई जितबाट समान ६ अंक जोडेका छन् । गोल अन्तरमा म्यानमार नेपाल भन्दा अघि छ । बिहीबारै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको थियो । लगातार दुई हारपछि लेबनान र कीर्गिस्तान भने फाइनल होडबाट बाहिरिएका छन् ।
नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४२औं मिनेटमा नेपालले अग्रता लिएको थियो । सावित्रा भण्डारी प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।लेबनानकी क्रिस्टी मालोफले १०औं मिनेटमा प्रहार एन्जिलाले बचाइन् । बिमलाले ११औं मिनेटमा गरेको गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् ।
२३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।
दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो ।अब लिग चरणको अन्तिम दुई खेल औपचारिकता मात्र हुनेछ । आइतबार लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तान खेल्ने छन् । फाइनल खेल नेपाल र म्यानमारबीच आउने बुधबार हुनेछ ।(स्रोतः अनलाइनखबर)