रनिङशिल्ड भवानी माविको पोल्टामा

हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शिल्ड भवानी माध्यमिक विद्यालयले हात पारेको छ । विद्यालयले ९ स्वर्ण, एक रजत र २ कास्यपदक प्राप्त गर्दै राष्ट्रपति रनिङशिल्ड हात पारेको हो । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता भवानी माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा ४ स्वर्ण, एक कास्यपदक सहित कैलाश–२ स्थित कमलादेवी मावि द्वितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्यपदक सहित कैलाश–९ स्थित कालिका माविले तृतीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्वितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्वितीय र साजनकुमार वाईबा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्यसचिव तथा शिक्षा शाखाप्रमुख समीर जोशीले बताए ।
यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्वितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्वितीय र सोनाम घिसिङ तृतीय भएका छन् । त्यस्तै, लङजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्वितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्वितीय र विप्लव घिसिङ तृतीय भएका छन् । प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्वितीय र सञ्चमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ रमन थिङ प्रथम, सुरेश खड्का द्वितीय र सुनील प्रजा तृतीय भएका छन् । यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईबा प्रथम, मनिषा नेगी द्वितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्वितीय र दिवाकर प्रजा तृतीय भएका छन् ।
एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्वितीय र सविना वाईबा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्वितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखाप्रमुख जोशीले बताए । भलिबलतर्फको खेलमा कमलादेवी माध्यमिक विद्यालय विजेता बनेको थियो भने उपविजेता भने धुवाङ माध्यमिक विद्यालय रहेको जनाइएको छ । समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको थियो ।
विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए । प्रतियोगितामा कमलादेवी मावि कैलाश–२, भवानी मावि कैलाश–३, व्यास मावि कैलाश–६, धुवाङ मावि कैलाश–८, कालिका मावि कैलाश–९ र रत्नज्योति मावि कैलाश–१० का विद्यालयका विद्यार्थीले सहभागिता जनाएको जोशीले बताए ।