सपना बनिन् पशुपतिनाथ माविको प्रधानाध्यापक

हेटौंडा-मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविको प्रधानाध्यापकमा सपना लामा नियुक्त हुने भएकी छन् । विद्यालय ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले लामालाई प्रअ नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।संख्यात्मक रुपमा मकवानपुरको सामुदायिक माध्यमिक विद्यालयमा महिला प्रधानाध्यापक न्युन रहेको अवस्थामा लामाले पशुपतिनाथ माविको शैक्षिक नेतृत्व सम्हाल्ने हिम्मत गरेकी हुन् । हेटौंडा–१ स्थित अमर माविमा करिब एकदसकदेखि मालती उप्रेती, मनहरी–७ ज्यामिरेस्थित महेन्द्रकिरण माविमा बिगत एक वर्षदेखि कबिता लामाले शैक्षिक नेतृत्व गरिरहेका छन् । जिल्लाका सामुदायिक माविमा थप एकजना महिलाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
पशुपतिनाथ माविमा २०६५ सालदेखि प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै आएका भानुभक्त आचार्यले गत कात्तिक २५ गते राजीनामा दिएका थिए । २०६५ सालमा विद्यालयले माध्यमिक तहको अध्यापन सुरु गरेपछि प्रअको जिम्मेवारीमा रहेका आचार्यले दिएको राजीनामा विद्यालय ब्यवस्थापन समितिले गएको माघ १४ गते स्वीकृति गरेको समितिका अध्यक्ष माधव गौतमले जानकारी दिएका छन् । प्रअका लागि छनोट भएपछि लामाले सबै शिक्षक, अभिभावक, ब्यवस्थापन समितिसँग समन्वयात्म रुपमा विद्यालयको पठनपाठन सुधार गर्दै जाने प्रतिक्रिया दिएकी छन् ।
विद्यालयमा प्रअ छनोट गर्न समितिले गरेको आब्हानमा ३ जना शिक्षकले आबेदन दिएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सुशील गौतम, निमावि राहतका शिक्षक ईश्वर रिजाल र स्थायी दर्बन्दीका प्राशि लामाले आबेदन दिएको अध्यक्ष गौतमले बताए । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एकमात्र विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविमा हाल ५७५ जना बालबालिका अध्ययन गरिरहेका छन् ।