दीपक सिंहलाई कमल थापाको आग्रह : पार्टी एकता गरौँ, मकवानपुरमा चुनाव तपाई लड्नुस्

हेटौंडा-राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र जनताको बीचमा साझेदारी आजको आवश्यकता भएको बताएका छन् ।फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको राष्ट्रिय मेलमिलापको प्रस्तावलाई सकारात्मक ढंगले ग्रहण गर्न उनले एमाले, कांग्रेस, माओवादीलगायत दललाई आग्रह गरेका छन् । शुक्रबार हेटौंडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पूर्वराजा शाहको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको बताएका छन् ।
मुलुकले भोग्नुपरेको संकटको मुक्तिको निम्ति र प्रजातन्त्रलाई बलियो बनाउनेतर्फ सोच्न पूर्वराजाले आग्रह गरेको अध्यक्ष थापाको भनाई छ । सम्पूर्ण दोष राजालाई देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि अध्यक्ष थापाले राजनीतिक दलहरुलाई चेतावनी दिएका छन् । अध्यक्ष थापाले पूर्वराजाको एउटै आह्वानमा नेपाली जनता सडकमा उत्रिन सक्ने समेत जिकिर गरे । ‘आवश्यक प¥यो भने राजाको एउटै आह्वान लाखौं नेपाली जनता सडकमा उत्रन तयार भएर बसेका छन्’ थापाले भने ।
जनता फेरि पनि सडकमा आए गणतन्त्र नै असफल हुने र जनताको आक्रोशको शिकार दलहरु हुने समेत अध्यक्ष थापाले चेतावनी दिए । अध्यक्ष थापाले महाधिवेशनको म्याडेण्ट विपरीत राप्रपा सरकारमा गएको आरोप समेत लगाए । ‘राजसंस्था पुनस्थापित गर्छु भन्नेहरु नै गणतन्त्रका संवाहक प्रचण्ड नेतृत्वको सरकार उनीहरु सामेल भए’ उनले भने । अध्यक्ष थापाले आपूm पार्टी एकताको पक्षमा भएको समेत दाबी गरे तर, राजेन्द्र लिङदेन र दीपकबहादुर सिंहले अपमानजनक ढंगले हेटौंडामा केही समयअघि एकताको विरुद्धमा अभिव्यक्ति दिएको उनले बताएका छन् । ‘पार्टी एकता गरौं, भोलि मकवानपुरमा दीपक सिंह नै चुनाव उठे हुन्छ्, मलाई अब चुनावमा उठ्नु छैन’ थापाले भने ।
राजसंस्था र हिन्दुराष्ट्र स्थापना नभएसम्म सरकारमा नजाने प्रतिबद्धता गर्न समेत अध्यक्ष थापाले लिङदेन र सिंहलाई आग्रह गरे ।अध्यक्ष थापाले सबै हिन्दुवादी, राष्ट्रवादी दलहरु मिलेर पूर्वराजाको आह्वानलाई साकारा पार्नुपर्नेमा समेत जोड दिएका छन् । अध्यक्ष थापाले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने टिप्पणी गरे । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनस्र्थापना हुने समय आइसकेको दाबी गरे । विदेशीशक्तिको प्रभाव देशमा परेकाले आफूहरु विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए ।
‘मलाई अब कुनैपनि पद चाहिएको छैन, पार्टी एक भएर राष्ट्र केन्द्रित गराउन सके पुग्छ’ थापाले भने । आफूले अब निर्वाचनमा भाग नलिने घोषणा गरिसकेको भन्दै उनले पार्टीलाई एकढिक्का गराएर राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिबीच एकता अहिलेको आवश्यकता रहेको बताए । ‘जे भयो भयो, अब हामी झगडा गरेर रिसाएर होइन हामीले सत्ता केन्द्रित नभई राष्ट्रकेन्द्रित भएर हामी एक हुनुपर्छ’ उनले भने । ‘चुनाव जित्नु र हार्नु आफ्नो ठाउँमा छ तर, मकवानपुरको लागि धेरै विकासका काम गरेको’ भन्दै राजनीतिक यात्रामा भएका उतारचढावलाई आफूले सिकाइको रुपमा लिएको बताए ।
सत्ता र सडकमा हिंड्दै गर्दा स्वाभिमानी र निष्ठावान भएर काम गरेको भन्दै थापाले साढे चार दशकसम्म आफूले परिकल्पना गरेको विचार र बाटो यथार्थ बन्दै आएको बताए । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला लगायत नेता कार्यकर्ताले बर्तमान राजनीतिक परिदृष्यका बारेमा बोलेका थिए ।