नेत्रहीन महिला विश्वकप क्रिकेटको लागि छनोट सुरु

साझाकुरा
२०८१ फाल्गुन ११, आईतवार ११:१७

हेटौंडा- मकवानपुरमा पाँचौं टी–२० नेत्रहीन महिला विश्वकप क्रिकेट २०२५ को लागि प्रारम्भिक छनोट प्रतियोगिता सुरु भएको छ ।नेपालमा हुने नेत्रहीन महिला विश्वकप क्रिकेट २०२५ को लागि शनिबारदेखि हेटौंडा–४ स्थित हुप्राचौरमा प्रतियोगिता सुरु भएको हो । फागुन १३ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपालभरका ३८ जना खेलाडी सहभागी भएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ । छनोट चरणको प्रतियोगितामा नेपालभरका ३८ जना नेत्रहीन महिला क्रिकेट खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिए । ‘पहिलोचरणमा २० देखि २३ जना खेलाडी छनोट हुनेछन्’ अध्यक्ष घिमिरले बताए ।

विश्वकप क्रिकेट प्रतियोगितामा १५ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछन् । सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो आगामी वैशाखमा हुने दोस्रो चरणको छनोट प्रतियोगिताबाट लगाइने अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । महिला क्रिकेट विश्वकप प्रतियोगिता नोभेम्बर १३ देखि नेपालमा हुँदैछ । विश्वकपमा घरेलु टोली नेपाल सहित भारत, पाकिस्तान, इग्ल्यान्ड, अष्टे«लिया र अमेरिकाले सहभागिता जनाउनेछन् ।

तत्कालीन माओवादी द्वन्द्वका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो । उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्षको भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन् । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए ।

अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्ट्रिविहीनलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ ।

मैदानको अभाव शारीरिकरुपले सक्षम क्रिकेट खेलाडीको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भएपनि नेत्रहीन खेलाडीका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट संघ लगायतलाई गुहार्नु पर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट संघले प्रयोग गरिरहेको छ । यद्यपि टीयुको क्रिकेट मैदान पनि आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको देखिन्छ । क्रिकेट संघले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानमा सरकारको लगानी रहेपनि पूर्णरुपमा खेल्नको लागि भने तयार भइसकेको छैन । त्यस्ता मैदान नेत्रहीनलाई पनि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिन माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*