लागूऔषधसहित भक्तपुरका दुईजना पक्राउ

साझाकुरा
२०८१ फाल्गुन १२, सोमबार ११:३४

हेटौंडा- मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का २६ वर्षीय प्रेमप्रसाद दाहाल र २२ वर्षीय निकिता पुडासैनी रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान सवा ९ बजे हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट उनीहरुलाई एक हजार एकसय ८९ ट्याब्लेट लागूऔषध नाइट्रोभेटसहित पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । ना ६४ प ३१७६ नम्बरको स्कुटरमा प्रेम र निकिता बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गर्दा उनीहरुलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्याले बताए । प्रेम र निकिता लागूऔषध प्रयोगकर्ता हुनुका साथै लागूऔषधको कारोबार गर्ने गरी यति ठूलो परिमाणमा तस्करीको प्रयास गरेको देखिएको प्रहरीप्रवक्ता अर्यालले बताए । छिमेकी मुलुक भारतको सीमानाका रक्सौलबाट लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले लागूऔषध तस्करी गर्ने गरेका छन् । रक्सौलबाट हेटौँडा हुँदै राजधानी काठमाडौंसहित देशका प्रमुख सहरमा लागूऔषध तस्करी हुने गरेको अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*