नैतिक शिक्षा र पूर्वव्यवसायिक शिक्षा अध्यापनको तयारी हुँदैछः मन्त्री खड्गी

हेटौंडा- बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले विद्यालय तहमा नैतिकशिक्षा र पूर्वव्यवसायिक शिक्षा अध्यापनको तयारी भइरहेको बताएकी छिन् ।शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै मन्त्री खड्गीले २०६२÷६३ सालपछि पाठ्यक्रम परिमार्जन हुँदा हटाइएको दुबै विषय पुनः अध्यापन गराउनका लागि प्रदेश सरकारले गृहकार्य थालेको जानकारी दिइन् ।
मन्त्री खड्गीले नैतिक शिक्षा र पूर्वव्यवसायिक शिक्षालाई अनिवार्य विषयकारुपमा लैजाने गरी अध्ययन प्रतिवेदन तयार भइसकेको बताइन् । बागमती प्रदेशका १३ जिल्लामा यी विषय अध्यापन गराउने प्रदेश सरकारले तयारी गरेको उनले उल्लेख गरिन् । विद्यार्थीलाई शिक्षाका साथै नैतिकता र व्यावहारिकज्ञान पनि अत्यावश्यक रहेको उनको भनाई छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ बागमती प्रदेश अध्यक्ष जेएस पौडेलले गुठिद्वारा सञ्चालित विद्यालयलाई राज्यले उपेक्षा गरेको आरोप लगाइन् ।
सार्वजनिक शैक्षिक गुठी एक गैरनाफामूलक संस्था भएपनि राज्यले कर लिनेगरेको प्रति उनको दुखेसो थियो । सार्वजनिक शैक्षिक गुठी विद्यालयलाई हेरिने दृष्टिकोणमा राज्य स्पष्ट हुनुपर्नेमा उनकोे जोड थियो । नेपालमा सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालय ५ सय भन्दा बढी रहेका छन् ।