चुनावको टिकट ‘मलाई होइन उसलाई’ भनेको दिन कांग्रेस हार्दैन

साझाकुरा
२०८१ फाल्गुन २३, शुक्रबार १०:५३

हेटौंडा-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकट लिने समयमा ‘म हैन उ’ भनेको दिन कांग्रेसले नहार्ने दावी गरेका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले आयोजना गरेको क्रियाशील तथा अगुवा कार्यकर्ता भेटघाटका प्रमुख अतिथि शर्माले आफैंलाई पद चाहिने र नपाउने वित्तिकै विद्रोह गर्ने प्रवृत्तिका कारण कांग्रेसले हार व्यहोर्ने गरेको धारणा राखे । कांग्रेस बलियो छ भन्ने उपनिर्वाचनबाट प्रष्ट भैसकेको जानकारी दिँदै उनले प्राप्त उपलब्धीको रक्षा गर्दै कांग्रेसको नेतृत्वमा भएका राम्रा काम लिएर जनतामा जानुपर्ने सुझाए । जनताको निराशालाई चिर्दै जनअपेक्षा अनुसार काम गर्न दुई ठूला दल कांग्रेस र एमालेको बीचमा सहकार्य भएको महामन्त्री शर्माले प्रष्ट पारे ।

उनले भने, ‘धेरैले २०८४ सालको चर्चा गर्छन्, हामीले गर्ने गरेका छौं । तर, अहिले क्रियाशील जनप्रतिनिधिले २०८४ किन पर्खनुपर्ने, अहिल्यै जनतासामु देखिने काम गर्नु पर्दैन ?’ महामन्त्री शर्माले २०७९ सालको चुनावदेखि २०८४ साल र २०८४ देखि २०८९ सालभन्दै चुनावको मात्र चिन्ता गरिरहने हो भने देशको बारेमा कहिले चिन्ता लिने ? भन्दै प्रश्न गरे । अन्य राजनीतिक पार्टी र विपक्षीलाई गाली नगरी पनि राजनीति गर्न सकिने स्पष्ट पार्दै राजनीतिक शब्दावलीमा गाली भन्ने शब्द नै प्रयोग गर्न नहुने उनको भनाइ छ ।

‘कतिबेला सरकार ढल्छ र कोसँग मिलेर सरकार बन्छ भन्ने अन्यौलता जनतामा रहिरहने अवस्था भएकोले एमालेसँग मिलेर सरकारमा गएका हौं । यसबाट जनतामा आशा पलाएको छ’ महामन्त्री शर्माले भने । मुलुकको विकासका लागि जे भएको छ हाम्रै कांग्रेसको कारणले भएको दावी गर्दै उनले अब जे हुन्छ कांग्रेसकै कारण हुने प्रष्ट पारे । अहिले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली लेख्नेहरुले हार्दिक जिन्दावाद भनेर कांग्रेसलाई भोट हाल्ने अवस्था बनाउन सबै एक भएर लागिपनुपर्ने उनको भनाई थियो ।

निराश हुनुपर्ने कुनै कारण नहरेको भन्दै उनले आफूहरु देश बनाउने अभियानमा लागिपरेको जानकारी दिए । पछिल्लो समय एकअर्कालाई आरोपप्रत्यारोप गर्ने र गालीगलौज गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै महामन्त्री शर्माले राजनीतिको डिस्नेरीबाट ‘गाली’ शब्दलाई हटाउन जरुरी रहेको बताए । मनहरी क्षेत्रमा धेरै भूमिहीन सुकुम्बासी रहेको प्रसंगमा उनले सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले व्यवस्थामाथि आक्रमण हुन खोजेकोले एमालेसँगको गठबन्धन सरकार बनाइएको दावी गरे । राजनीति गर्नेले निराशाको कुरागर्न नहुने भन्दै उनले समस्या भए समाधान गर्नुपर्ने धारणा राखे । कांग्रेस एमालेले संविधान संशोधन गरेसँगै जनतामा थप भरोसा पलाउने बानियाँको दावी थियो । राजनीतिको आडमा गलत गर्ने नयाँ पुरानो जुनसुकै पार्टीको भएपनि कारबाहीको दायरामा आउनु पर्नेमा नेता बानियाँले जोड दिए ।

भूमिहीन सुकुम्बासीको लालपुर्जाको समस्या हल गर्न लागिपर्ने उनको पनि प्रतिबद्धता थियो । कार्यक्रममा मनहरी गाउँपालिकामा रहेका अगुवा नेता कार्यकर्तालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा एमाले, माओवादीलगायत दल परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, निवर्तमान कार्यबाहक सभापति विष्णु लामिछाने, बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, मनहरी गाउँपालिका सभापति रञ्जन कालाखेतीलगायत नेताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य ब्यवस्थापनका विषयमा पनि छलफल भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*