प्रदेश सरकारको सहयोगमा ९७ स्कुलमा विद्यार्थीलाई बससेवा

हेटौंडा- सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले विद्यालय बससेवा अनुदान कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ । आव २०७६÷७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुविधाको लागि बससेवा सञ्चालन गर्न प्रतिविद्यालय २५ लाख रुपैयाँ सहयोग गरेको हो ।मन्त्रालयका सचिव बद्रीनाथ गैरेका अनुसार प्रदेशका १३ जिल्लामध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बससेवा सञ्चालन गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको हो । सामुदायिक विद्यालयमा बससेवाले शैक्षिक गुणस्तरलाई सहयोग पु¥याउने अपेक्षा सरकारले लिएको छ । स्कुलमा बसको सुविधा भएपछि विद्यार्थी थकित पनि नहुने र पढाईमा पनि असर नगर्ने मन्त्रालयको विश्वास छ ।
सामाजिक विकासमन्त्री हरिप्रभा खड्कीले विद्यालयमा बससेवा सञ्चालन भएपछि टाढाका विद्यार्थीको कक्षा छुट्ने समस्या समाधान भएको बताइन् । मन्त्रालयले हालसम्म ९७ वटा विद्यालयलाई बस खरिद गर्न २५÷२५ लाख रुपैयाँ पठाइसकेको छ । अपुग रकम विद्यालय आफैंले थपेर बस खरिद गरी सञ्चालनमा ल्याएका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्कुल बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कुल आउजाउ गर्न सहज भएको छ ।
सबैभन्दा धेरै मकवानपुरका २४ वटा सामुदायिक विद्यालयमा स्कूलबस सञ्चालनमा छन् । त्यसैगरी काभ्रेपलाञ्चोकका १४ वटा, सिन्धुलीमा ५, सिन्धुपाल्चोकमा ७, चितवनमा ८ र धादिङका ८ वटा सामुदायिक विद्यालयमा बस सञ्चालनमा छन् । यसैगरी काठमाडौंमा ८, ललितपुरमा ३, भक्तपुरमा ३, दोलखामा ४, नुवाकोटमा ७, रामेछापमा ३ र रसुवामा २ वटा सामुदयिक विद्यालयमा बस सञ्चालनमा आइरहेका छन् ।सामाजिक विकास मन्त्रालयले चालु आव २०८१÷८२ का लागि थप २३ वटा विद्यालयमा बस सञ्चालन गर्नका लागि २५÷२५ लाख रुपैयाँ पठाइसकेको शिक्षा निर्देशानलयका निर्देशक खुविराम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चालू आवमा काठमाडौंमा २, दोलखामा २, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा २, मकवानपुरमा २, रामेछापमा २, ललितपुरमा २, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १, काभ्रेपलाञ्चोकमा २, चितवनमा २ र रसुवामा १ बस सञ्चालन लागि २५÷२५ लाख रुपैयाँ निकासा गरिसकेको छ ।
सामुदायिक विद्यालयमा बस सञ्चालनमा आएपछि पढाई पनि गुणस्तरीय बन्दै गएको र विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको थाहा नगरप्रमुख विष्णु विष्ट बताउँछन् । थाहानगरका अधिकांश सामुदायिक विद्यालयमा बस सञ्चालनमा छन् । मकवानपुरका केही विद्यालयले बस संचालन गर्न नसक्ने भन्दै विद्यार्थीलाई साइकल बितरण गरेका छन् । मनहरीको पशुपतिनाथ माविले गतवर्ष गाउँपालिकाको सहयोगमा विद्यालयमा एक सय १५ थान साइकल बितरण गरेको थियो ।