महिला पत्रकारको भूमिका, चूनौती र अवसरबारे अन्तरक्रिया

साझाकुरा
२०८१ फाल्गुन २५, आईतवार १०:२२

हेटौंडा- सञ्चारिका समूह नेपाल, मकवानपुरले १ सय १५ औं श्रमिक महिला दिवसका अवसरमा सामाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चूनौती र अवसरका विषयमा अन्तरक्रिया गरेको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लामाले परम्परादेखि चलिआएको रीतिरिवाजका कारण महिलामाथि विभेद भइरहेको बताइन् । जसलाई सहजरुपमा लिएर अगाडि बढ्न उनले आग्रह गरिन् । विभिन्न चूनौतीलाई पारगर्दै महिला नेतृत्व तहमा पुगिरहेको नगरप्रमुख लामाको भनाई छ । ‘परम्परागत सोचाई, आर्थिक, सामाजिकलगायत हरेक समस्याबीच पनि महिला नेतृत्वदायी भूमिकामा रहेको छ’ उनले भनिन् । उनले घरमै खाना पकाउने, बच्चा हुर्काउने जस्ता कामलाई काम नभन्ने प्रवृत्ति बदलिनुपर्ने र छोराछोरीलाई सानैदेखि समान संस्कार दिनुपर्ने आवश्यकतामा जोड दिइन् ।

नगरप्रमुख लामाले सञ्चारिका समूह नेपाल मकवानपुरमा कोष खडागर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्वता जनाइन् । कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी पूर्वउपाध्यक्ष सम्झना कार्की र मकवानपुर शाखा उपाध्यक्ष भावना रिजालले पत्रकारितामा महिलालाई अवसर र चूनौतीका साथै अनुभव सहितको धारणा राखेका थिए । सञ्चारिका समूहकी उपाध्यक्ष जमुना थिङले मकवानपुरमा महिलाद्वारा सञ्चालित सञ्चार माध्यम, महिला पत्रकारको अवस्थालगायत विषय समेटेर प्रस्तूतिकरण राखेकी थिइन् ।

पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले पत्रकारको कामको कदर गर्दै पत्रकार उपचार कोष र पेन्सन कोष स्थापना गर्नुपर्ने सुझाव दिए । उनले महिला पत्रकारका लागि विशेष कोष स्थापना गर्न नगरप्रमुखलाई आग्रह गरेका छन् । स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठले महिला इमानदार, सहनशील र निष्ठावान् हुने विशेषता उजागर गर्दै महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले सीप, दक्षता, व्यावसायिकता र सुरक्षामा जोड दिँदै सञ्चारिका समूहले विश्वासनीयता र प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीले नयाँ सोच लिएर अघि बढ्ने सबैका लागि पत्रकारितामा अवसर रहेको बताउँदै वास्तविक पत्रकारिताको मूल्यमान्यता बचाइराख्नुपर्नेमा जोड दिए । प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माले महिलाका लागि राज्यको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । प्रेस चौतारी बागमती प्रदेश सदस्य सुनिता विष्टले महिला पनि पुरुषसरह समानरुपमा कार्यरत रहेको भन्दै महिलाको योगदानको कदर हुनुपर्नेमा जोड दिइन् ।

मकवानपुरका महिला सञ्चारकर्मीका लागि औषधि व्यवसायी संघ मकवानपुरले २ सय पिस सेनिटरी प्याड सहयोग गरेको थियो । औषधि व्यवसायी संघ मकवानपुर अध्यक्ष नारायणलाल श्रेष्ठले सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङलाई प्याड हस्तान्तरण गरेका हुन् । संघले निरन्तर मासिक ५० पिस प्याड उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*