ईन्द्रसरोवरको माछा स्थानीय माग धान्नै मुस्किल

साझाकुरा
२०८१ फाल्गुन २६, सोमबार ११:४४

हेटौंडा- मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–१ मार्खुमा रहेको मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्षको फागुण महिनासम्ममा केन्द्रले तीन लाख ३८ हजार २ सय २१ रुपैयाँ राजस्व संकलन गरेको हो । कुल एकहजार चारसय ३२ किलो विभिन्न जातको माछा विक्रीबाट यति राजस्व संकलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीका मत्स्य विकास अधिकृत मनिता पौडेलले जानकारी दिइन् । केन्द्रले चालु आर्थिक वर्षको साउन महिनामा केज र तियारीबाट एक सय ८० किलो माछा उत्पादन गरी बिक्री गर्दा चारहजार चारसय ३७ रुपौयाँ राजस्व संकलन गरेको अधिकृत पौडेलले बताइन् ।

भदौ महिनामा तीसहजार दुईसय ३८ असोजमा २९ हजार तीनसय ३६, कार्तिक महिनामा एकलाख ६ हजार चारसय १६, मंसिर महिनामा ६ हजार ६ सय एक र पुस महिनामा केन्द्रले चालु आवको हालसम्मकै बढी एकलाख १७ हजार तीनसय राजस्व संकलन गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिइन् । केन्द्रले फागुमा तीन हजार ९ सय ६० रुपौयाँ राजस्व संकलन गरेको छ । माघमा भने माछा बिक्री नगरिएको पौडेलको भनाई छ । केन्द्रले गत आवमा २ हजार ५ सय १८ किलो माछा विक्री गरेर ६ लाख २७ हजार राजस्व संकलन गरेको थियो ।

मकवानपुरको ईन्द्रसरोवर जलासयमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको मत्स्य अधिकृत पौडेलको भनाई छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमनकार्प, ग्रासकार्प, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्ने गरेको छ । मागको आधारमा माछा उत्पादन गर्न नसकिएको र चालु आवमा दुई हजार भन्दा बढी माछा उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको मत्स्य विकास अधिकृत पौडेलले बताइन् ।

तालको रिजरभ्वायरको जलीय विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने हेतुले केन्द्रले विगतका वर्ष झैं गत भदौको तेस्रोसाता २ लाख भुरा तालमा छाडेको जनाएको छ । केन्द्रले स्थानीय विद्यालयका विद्यार्थी र कर्मचारीलाई नेपालमा माछा पालनका लागि योग्य माछाका जात, माछाको पौष्टिक महत्व तथा प्राकृतिक जलाशयको संरक्षण जस्ता विषयमा जानकारी दिन स्कूलशिक्षा कार्यक्रम गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिइन् ।

यहाँ उत्पादन भएका माछा स्थानीयस्तरमै खपत हुने गरेको छ । पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको माछा अत्यधिक मन पराएर खाने गरेको होटेल व्यवसायीहरु बताउँछन् । मकवानपुरको पहाडीक्षेत्रमा रहेको ईन्द्रसरोवर रिजरभ्वायर विद्युत् उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम बनाइ निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला जलासय हो । यसमा पानी जम्मा पार्न पालुङखोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडेखोला र धस्कुखोला गरी जम्मा ७ वटा स्रोतहरु रहेका छन् । समुद्री सतहदेखि १५०० मिटर उचाइमा यो रिजरभ्वायर रहेको छ ।

पूर्णरुपमा रिजरभ्वायरमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ भने रिजरभ्वायरको औसत लम्बाइ ७ किमि र चौडाइ करिव ५०० मिटरसम्म छ । विद्युत् उत्पादनको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकलाई स्थानीयस्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटिनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछा पालन गरिएको हो ।

तालमा पाइने प्राकृतिक आहारा खाएर हुर्कने सिल्भरकार्प र बिगहेड जातका माछा केजमा पालन गरिएको हो । वि.स.२०४५ सालदेखि निजीस्तरमा कृषकलाई प्रविधि सिकाई केजमा माछापालन कार्यको थालनी गरिएको हो । वि.स. २०४१ सालदेखि २०४९ सालसम्म ईन्द्रसरोवर मत्स्य विकास आयोजना नामबाट संचालित यस केन्द्र आ.व. २०४९÷५० देखि तत्कालीन श्री ५ को सरकार, मत्स्य विकास केन्द्र, ईन्द्रसरोवर, कुलेखानीको नामबाट संचालन हँुदै आएको र आ.व. २०६०÷६१ देखि रिजरभ्वायर मत्स्य विकास केन्द्र, कुलेखानी हुँदै वि.स. २०७५ सालदेखि बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा मत्स्य विकास केन्द्र, कुलेखानीको नामले सञ्चालन हुँदै आएको छ । हाल मत्स्य व्यवसायी संघमा ६ सय ८५ जना सेयर सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*