लोप हुँदै ढिकीजाँतोको प्रयोग

साझाकुरा
२०८१ फाल्गुन २६, सोमबार ११:४९

हेटौंडा- गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने परम्परागत र मौलिक प्रबिधि ढिकीजाँतोको प्रचलन लोप हुँदै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुट्ने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराएको हो ।कुटानी, पिसानीको सहज माध्यमकारुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकीजाँतोको प्रयोग हराउन थालेको छ । मानिसहरु उत्पादनमुखी भन्दा पनि आयातित चामल, दाललगायत खाद्यसामग्री प्रयोगमा बढी निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराएको देखिन्छ । विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने गरेको थियो । पछिल्लो समयमा आधुनिक मिलको सहायताले मानिस कुटानी पिसानी गर्दै आएका छन् ।

दशक अघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुने गरेको भएपनि त्यो चलन हिजोआज हराएको थाहानगरका स्थानीय रामबहादुर विष्टले बताए । पितापुर्खाले चलन गरेको यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘गाउँघरमा परम्परागतरुपमा प्रयोगमा ल्याइने ढिकीजाँतो, पानीघट्टको चलनहराएको अवस्था छ’, उनले भने, ‘पहिला गाउँघरमा ढिकीजाँतो अनिवार्यजस्तै थियो । अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकीजाँतोको चलन इतिहास बन्ने अवस्था छ ।’गाउँघरमा विद्युत् पुगेसँगै मकवानपुरका अधिकांश ग्रामीणक्षेत्रमा विद्युतबाट चल्ने मिल राखेर धान, मकै कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रुपमा चल्दै आएका ढिकीजाँतोहराएका हुन् ।

कुटानी–पिसानीका लागि आधुनिक मिलले सहज भएपछि ढिकीजाँतो भने लोप हुँदै गएको कैलाशका स्थानीय किरण न्यौपानेको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकीजाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकर र स्वादिष्ट हुने कैलाश गाउँपालिका–९ सुन्दरकुमार विष्ट बताउँछन् ।‘आधुनिक मिलमा कुटानी–पिसानीका लागि सहज छ’ तर, परम्परागत चलन हराउँदै गएको अवस्था छ । मिलमा कुटानी–पिसानीका लागि छिटो हुने भएकाले ढिकीजाँतोको चलन हराएको छ’, उनले भने । गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप भएको उनको भनाइ छ । भौगोलिकरुपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिलेसम्म ढिकी तथा जाँतोको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीय बताउँछन् ।

नयाँ प्रविधिको विकासले परम्परागत ढिकीजाँतो इतिहास बन्ने अवस्था आएको छ । परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । पूजाआजामा प्रयोग गरिने पिठो चामललगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तै थियो । परम्परगतरुपमा गरिने काममा मेहनत धेरै परेपनि कम खर्चिलो हुने स्थानीयले बताएका छन् । ‘मेहनत बढी परेपनि ढिकीजाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ’, उनीहरुले भने, ‘यस्तो चलन गाउँघरबाट हराउँदै जानु दुःखद् हो । यी कुरालाई हामीले पनि संरक्षण गर्न आवश्यक छ ।’ आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरेपनि खाद्यान्नमा हुने पौष्टिकतत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ । परम्परागतरुपमा चलन आउने गरेका प्रविधिको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको स्थानीय जानकारहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*