अफिमसहित मनहरीबाट एकजना पक्राउ

हेटौंडा- मकवानपुर प्रहरीले मनहरीबाट लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–८ का ३२ वर्षीय राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई मनहरी गाउँपालिका–८, देवकोट चोकबाट मेनरोडतर्फ आउँदैगर्दा २ किलो ५३० ग्राम अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
शनिबार राति ८ः२० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीटोलीले देवकोट चोकबाट मेनरोडतर्फ आउँदै गरेको ग ६ प ४५८४ नम्बरको मोटरसाइकलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा तामाङको साथबाट २ किलो ५३० ग्राम अफिम बरामद भएको प्रहरीको भनाई छ । तामाङले अफिम मोटरसाइकलको लेगगार्डमा प्लास्टिक भित्र लुकाई ल्याइएको अवस्थामा बरामद भएको प्रवक्ता अर्यालले बताए । तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ ।