प्रजिअ श्रेष्ठले सञ्चारकर्मीलाई भनिन्ः ‘तपाईहरुको कलम कसरी चल्छ ? म बुझ्दिन’

हेटौंडा- मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले प्रहरी र प्रशासनले मात्र सभ्य समाज निर्माण गर्न नसकिने बताइएकी छिन् ।आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रशासन, प्रहरी, सञ्चारकर्मी सबैको सामूहिक प्रयासबाट मात्र सुशासित समाज निर्माण हुने बताइन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सुशासन कायम गर्न समाजमा हुने सम्पूर्ण आपराधिक क्रियाकलापमा प्रशासनले शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उल्लेख गरिन् । जनतालाईसुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउन प्रशासन प्रतिबद्ध रहेको उनको भनाई छ ।
जिल्लाका सरकारी कार्यालयमा जनताले सेवालिने क्रममा कर्मचारीबाट अवाञ्छित क्रियाकलाप भए त्यसको सूचना दिन पनि उनले सञ्चारकर्मीसँग आग्रह गरिन् । ‘पब्लिकलाई प्रेसर दिएर पहिला यति गर अनि मात्र काम गर्छु भन्ने व्यवहार उत्पन्न भए तपाईहरुले सूचना दिन सक्नुहुन्छ’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रमाणसहितको सूचना दिन आग्रह गरिन् । सुशासन भन्दा बाहिर गएर हुने कुनैपनि किसिमको गतिविधि सैह्य नहुने उनले बताइन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भएका कमजोरीलाई सुधार गर्दै अझ व्यवस्थित ढंगले आपूmहरु अघि बढ्न तयार रहेको उल्लेख गरिन् ।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सञ्चारकर्मीको कलम नलेखिनुपर्ने ठाउँमा लेखिने र लेखिनुपर्ने ठाउँमा नलेखिने प्रवृत्ति देखापरेको बताइन् ।
‘तपाईहरुको कलम पनि कसरी चल्छ म बुझ्दिन, यहाँहरुले बुझ्नुहुन्छ यहाँहरुको धर्म हो’ उनले भनिन् ‘लेखिनुपर्ने ठाउँमा लेखियोस् चाहे मेरै बारेमा किन नहोस् । सञ्चारकर्मीले आधारहिन र तथ्यहिन समाचार लेख्ने गरेकोमा उनले गुनासो गरिन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई हल्लाउन सक्ने तागत भएको सञ्चारकर्मीसँग मिलेर समाज सुधार्न प्रशासन तयार रहेको बताइन् ।सञ्चारकर्मीहरु सुस्त हुँदा कर्मचारीतन्त्र पनि सुस्त हुने उनको भनाई छ ।
समृद्धि समाज निर्माणको लागि सञ्चारकर्मी पनि जागरुक हुनुपर्नेमा उनको जोड थियो । पत्रकारले बजार अनुगमन, हेटौंडाको ट्राफिक व्यवस्था, अवैध खानी सञ्चालन, जिल्लाको सुरक्षा अवस्था, लागूऔषध दुव्र्यसनी लगायत विषय उठान गर्दै प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका थिए ।कार्यक्रममा मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरीप्रमुख सन्तोष साह, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीका साथै जिल्लामा क्रियाशील सञ्चारकर्मीको उपस्थिति थियो ।