हेटौंडा सिमेन्ट उद्योगको उत्पादन चैतको दोस्रो सातादेखि हुने

हेटौंडा-सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन चैतको दोश्रो साताबाट पुनः सुरु हुने भएको छ ।गत असोजको पहिलो साताबाट बन्द भएको सिमेन्ट उत्पादन पुन सुरु गर्ने तयारी भएको हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । यसअघि उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरु मर्मत र आर्थिक अभावको समस्याका कारण उत्पादन सुरु हुन नसकेको हो । ‘उद्योगको क्लिङ्कर मेसिनलगायत उपकरणको मर्मतकार्य भइरहेको छ, चैत्र पहिलो सातासम्ममा विद्युतको व्यवस्थापन गरेर सम्भवत चैत्र दोस्रो साताबाट उत्पादन सुरु हुन्छ’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले पनि उद्योग संचालनमा आउने बताएका छन् । ‘तीन महिनादेखि कर्मचारीले तलब खान पाएका छैनन्, विहान बेलुकाको समयमा विद्युत काटिदाँ समस्या भएको छ । हामीले विद्युत ग्रीड माहाशाखा हेटौंडामा कुरा गरेका छौं, चैत्र पहिलो साताबाट विद्युत नियमित गर्ने कुरा छ । त्यसो भएमा हामी चैत दोस्रो साताबाटै उत्पादन सुरु गर्न सक्नेछौं’ कर्णले बताए ।
निमित्तमहाप्रबन्धक कर्णले कामदार कर्मचारीको तलब भत्तासमेत भुक्तानी हुन नसकिरहेको उद्योगको वर्तमान जटिल अवस्थामा उत्पादन नै यस अवस्थाबाट उन्मुक्ति दिलाउने प्रमुख आम्दानीको स्रोत भएको बताए । उनले सबैको साथ र सहयोगबाट उद्योगमा सकारात्मक परिर्वतन ल्याउन सकिने साथै उद्योगलाई जीवन्त राख्न सकिने भन्दै सहयोग गर्न आग्रह गरेका छन् । उद्योग संचालनका लागि अहिले आवश्यक कचचापदार्थ (क्लिङ्कर) समेत झर्न थालिएको उनले जानकारी दिएका छन् ।
यसअघि पनि आर्थिक अभावका कारण उद्योग पटकपटक बन्द हुँदै आएको छ । उद्योग बन्द हुने अवस्थामा पुगेपछि स्थानीय संघर्ष समितिले उद्योग संचालनका लागि आन्दोलन समेत गरेका थिए । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भएपनि पुरानो मेसिनमा देखिएको समस्या र जनशक्ति अभावमा उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन । उद्योगमा हाल एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेका छन् ।
केही समयअघि मात्र उद्योग सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन उद्योगले रोपवे बिक्री गरेको थियो । उद्योगको कच्चापदार्थ आपूर्तिका लागि खानी क्षेत्रबाट उद्योगसम्म निर्माण गरिएको रोपवे लामो समयदेखि बन्द अवस्थामारहेको थियो । उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोपवे बिक्री गरेको हो । उद्योग प्रशासनले बाराको लिपनीमालस्थित पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोपवे बिक्री गरेको जनाएको छ ।
उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याएको थियो । प्रतिघण्टा ३ सय मेट्रिकटन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको सुरुमा १६५ वटा बकेट (क्यारियर) रहेका थिए । रोप–वे बिग्रिएपछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी थियो । विगतमा यातायातका साधनको सुविधा नहुँदा उद्योगको चुन ढुंगाखानीबाट ढुंगा ओसार्नको लागि रोप–वे को प्रयोग भएको हो ।
पछिल्लो चरण यातायातको साधनको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वेबाट चुनढुंगा ल्याउन बन्द गरेको हो । २०६२ सालदेखि रोप–वे पूर्णरुपमा बन्द रहेको उद्योगले जनाएको छ । रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि चुनढुंगा लोर्ड गरिएको अवस्थामा रहेको छ । २०६० सालमा आएको बाढीपहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भयो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पु¥याएपछि पूर्णरुपमा बन्द भएको हो ।
उद्योग विगत केही वर्षदेखि घाटामा छ । २०३३ सालमा एसियाली विकास बैंकको सहयोगमा स्थापना गरिएको यो उद्योगले उत्पादन गरेको सिमेन्ट उपभोक्ताले महिनौं पालो कुरेर लिने गरेका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले उद्योगले २०४३ सालमा उद्घाटन गरेको यो उद्योगको उत्पादनले सिमेन्टको बजारमा मूल्य नियन्त्रण गर्न ठूलो भूमिका निर्वाह गरिरहेको छ ।