मानवसेवा आश्रमले महायज्ञ गर्ने

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नंं ९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको क्षमता अभिवृद्धि र आश्रम व्यवस्थापनलाई थप सहज बनाउन श्रीमद्भागवत पुराण महायज्ञ आयोजना हुने भएको छ ।शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गरी आश्रमले यही चैत्र १७ गतेदेखि २४ गतेसम्म श्रीमद् भागवत् सप्ताहज्ञान महायज्ञ हुने जानकारी दिइएको हो । महायज्ञबाट उठेको रकमबाट अहिले रहेको ५ करोडमा थप ५ करोड थपी १० करोडको अक्षयकोष स्थापना गरिने बताइएको छ ।
विभिन्न संघसंस्थाको सहकार्यमा किचन, डाईनिङ हल, कोल्डस्टोर सहितको भवन पुननिर्माण गर्ने लक्ष्यको साथमा महायज्ञ आयोजना गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । त्यसैगरी २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पुरा गर्नको लागि समेत आधार तयार पार्न महायज्ञले सहयोग पु¥याउने उनको भनाई छ ।
महायज्ञको पहिलो दिन चैत्र १७ गते बिहान ८ बजेदेखि राप्तीतट स्थित गोरक्षश्वरधामबाट कलशयात्रा निकालिने महायज्ञ मुलसमारोह समितिका संयोजक बद्रीनाथ शर्माले जानकारी दिएका छन् । प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म भागवत कमलनयन गौतमबाट कथा प्रवचन हुने उनले बताए । महायज्ञ सम्पन्न गर्न २० देखि ३० लाख खर्च हुने अनुमान आश्रमले गरेको छ । हेटौंडामा हुन लागेको यो महायज्ञ १० औं हो । यसअघि आश्रमले चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, बुटवल, धनगढी र सर्लाहीमा महायज्ञ गरिसकेको छ । हेटौंडास्थित कार्यालयले हालसम्म १ हजार ७ सय ९६ जनाको उद्दार गरिसकेको छ भने २ सय ३८ जना अझै पनि आश्रित छन् ।