विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा आबद्ध हुन आवदेन माग : आगामी भदौबाट अध्यापन सुरु गर्ने तयारी

साझाकुरा
२०८१ चैत्र २, आईतवार ११:४३

हेटौंडा-बागमती प्रदेश विश्वविद्यालयले बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरुलाई आंगिक क्याम्पसको रुपमा समायोजनका लागि प्रक्रिया अगाडि बढाएको छ ।हेटौँडास्थित प्रदेश विश्वविद्यालय केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरी विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा आबद्ध हुन भनेको हो । विश्वविद्यालयले प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भई सञ्चालन हुन आवेदन माग गर्दै बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालन हुने र मातृ विश्वविद्यालयसँगको सम्बन्धन अन्त्य गर्ने सम्बन्धी क्याम्पस सञ्चालक समितिको निर्णय अनिवार्य गरेको छ ।

विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरुले प्रदेश विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भई सञ्चालन हुनसक्ने बताए । बागमती प्रदेश उच्चशिक्षा ऐन, २०७८ को दफा ९(३) र (४), प्रदेश उच्चशिक्षा नियमावली, २०७९ को नियम १७ तथा बागमती प्रदेश विश्वविद्यालयको विधान, २०६१ को दफा ३६ बमोजिमप्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालन गर्न चाहेमा एक महिनाभित्र विश्वविद्यालय संरक्षक समितिको सचिवालय, हेटौंडामा निवेदन दर्ता गराउनुपर्ने छ ।

समायोजन हुन इच्छुक क्याम्पसको वर्तमान अवस्था, सञ्चालित कार्यक्रम, सोअनुसार विद्यार्थी संख्या, शिक्षक कर्मचारीको तहगत (स्थायी, अस्थायी र करार) विवरण, उनीहरुको पारिश्रमिक विवरण, शिक्षण शुल्क विवरण, क्याम्पसको आर्थिक, भौतिक सम्पत्ति, आर्थिक दायित्वसमेत खुल्ने प्रोफाइल आवश्यक हुन्छ उपाध्यक्ष सुवेदीले भने, क्याम्पस स्थापना÷सम्बन्धन स्वीकृतिपत्र, क्याम्पसको स्वीकृत विधान र क्याम्पसको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समावेस गर्नु आवश्यक हुन्छ ।

उनका अनुसार क्याम्पसमा सञ्चालनहुन सक्ने र चाहेको शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन प्रतिवेदनसहित निवेदन दिनुपर्छ । आंगिक क्याम्पसका लागि आवेदन प्राप्त भएपछि छानबीन गरी सम्बन्धित क्याम्पसमा सञ्चालनमा हुनसक्ने शैक्षिक कार्यक्रमको औचित्य सम्भाव्यता र विश्वविद्यालयको व्यवस्थापकीय पक्षसमेतलाई ध्यान दिँदै विश्वविद्यालयले क्रमशः आंगिक क्याम्पसको रुपमा ग्रहण गर्ने गरी बागमती प्रदेश उच्चशिक्षा ऐन, २०७८ उच्चशिक्षा नियमावली, २०७९ एवम् विश्वविद्यालयको विधान २०८१ बमोजिम प्रक्रिया अगाडि बढाइने भएको छ ।

विश्वविद्यालयले आगामी भदौबाट अध्यापन गर्ने गरी काम गरिरहेको छ । विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, वातावरण इन्जिनियरिङ र फोहोर व्यवस्थापन, नर्सिङ,बी–फर्मा औषधि विज्ञान, जोखिम तथा बीमा व्यवस्थापन, व्यवसाय प्रशासन, सार्वजनिक क्षेत्र व्यवस्थापन, होटल व्यवस्थापन, कला स्नातक र कानुन, एलएलबी ब्याचलर अफ लेजिस्लेटिभ ल, सूचना प्रविधि, बीएडलगायत विषय अध्यापन गराउने तयारी गरेको उपाध्यक्ष सुवेदीले बताए ।

उपाध्यक्ष सुवेदीले विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन तथा कानुन र शिक्षा तथा सामाजिक विकास संकायगरी तीनवटा संकायमा आगामी आर्थिक वर्षबाट अध्यापन सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए । प्रदेश सरकारले २०७८ मा ऐन जारी गरी प्रदेश विश्वविद्यालय स्थापनाको तयारी थालेको थियो । तयारी थालेको २ वर्षपछि प्रदेश उच्चशिक्षा परिषद्को कार्यालय स्थापना गरिएको थियो भने ३ वर्षपछि बागमती विश्वविद्यालय नामकरण गरी कार्यालय स्थापना गरिएको छ ।

विश्वविद्यालयका लागि भौतिक संरचना अभाव हुँदा हेटौंडा–५ मा भाडाको घरमा कार्यालय खडा गरिएको छ भने बोर्ड अफ ट्रष्टीको कार्यालय सामाजिक विकास मन्त्रालयसँगैको अस्थायी भवनमा राखिएको छ । प्रदेश सरकारले विश्वविद्यालयका लागि आवश्यक जमिन, भौतिक संरचना तथा प्रशासनिक कार्यालयहरुको व्यवस्थापन गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*