हेटौंडा–१२ घिसिङटोलमा स्ल्याव ढलान सुरु

हेटौंडा-हेटौंडा–१२ स्थित बीचरोडदेखि विनोद वाइबाको घर हुँदै घिसिङटोल चौतारा जोड्ने सडकमा स्ल्याव ढलानकार्य सुरु भएको छ ।यो योजनाको बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को विनियोजित २० लाख रुपैयाँको बजेटबाट ६ मिटर चौडा रहेको २२० मिटर लामो स्ल्याब ढलान सुरु भएको हो । निर्माणकार्यको सुरुवात गर्दै पूर्वमन्त्री एवम् सांसद श्रेष्ठले बजेटको पूर्णसदुपयोग गर्दै गुणस्तरीय निर्माणकार्यको लागि उपभोक्ता समितिलाई निर्देशन दिएका छन् ।
उनले हेटौंडा उपमहा नगरमा पछि गाभिएका वडाको विकासका लागि भौतिक पूर्वाधार, कृषि, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट विनियोजन गर्दै आएको बताए । १२ नम्बर वडाका निर्वाचित वडासदस्य महेश भट्टराईले प्रदेश सरकारबाट हेटौंडा–१२ नम्बर वडाको समग्र विकासको लागि थुप्रै योजनाहरु पार्न विशेष भूमिका खेल्नुभएको भन्दै सांसद श्रेष्ठको प्रशंसा समेत गरे ।
यस योजनामा हेटौंडा उपमहानगरपालिकाले थप बजेट विनियोजन गरेको र जसबाट करिब १०० मिटर स्ल्याब थप हुने उपभोक्ता समिति अध्यक्ष बीरन घिसिङले जानकारी दिए । कार्यक्रममा हेटौंडा–१२ को उपनिर्वाचनमा वडाध्यक्षका प्रत्याशी राजेश नगरकोटी, स्थानीय समाजसेवी अर्जुनप्रसाद अर्याल, विनय मगरलगायतको सहभागिता थियो ।