वंशगोपाल क्याम्पसमा सिलवालको नेतृत्व सर्वसम्मत

हेटौंडा-हेटौंडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ समिति सर्वसम्मत रुपमा चयन भएको छ ।संगठनबीचको आपसी सहमतिपछि आइतबार बिहान सर्वसम्मत नयाँ समिति चयन गरिएको हो । नवनिर्वाचित समितिको अध्यक्षमा अनेरास्ववियुका दिवस सिलवाल चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा राप्रविसका सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका आशाराम गोले, सहसचिवमा नेविसंघका आशिष भोलन चयन भएका छन् । सदस्यहरुमा आयुषा बुढाथोकी (क्रान्तिकारी), निश्चल गजुरेल (अनेरास्ववियु), सन्तोष पुडासैनी (अनेरास्ववियु), पूजा लम्साल (अनेरास्ववियु), सुष्मा गौतम (अनेरास्ववियू), सुशील तिमल्सिना (अनेरास्ववियु) निर्वाचित भएका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण कँडेलद्वारा जारी सूचनामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्ज्वल चौलागाईंको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतरुपमा नयाँ समिति चयन गरेको उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वंशगोपाल बहुमुखी क्याम्पसले स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ । क्याम्पसमा २११ जना विद्यार्थी अध्ययनरत रहेपनि स्ववियु निर्वाचनका लागि १ सय ४७ मतदाता रहेको क्याम्पसप्रमुख कँडेलले जानकारी दिएका छन् । यसअघि मकवानपुरकै मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको नयाँ समिति सर्वसम्मतरुपमा चयन गरिएको थियो ।