पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि भित्तेचित्र कोर्न सुरु

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले उपमहानगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसारको लागि भित्तामा चित्र कोर्न सुरु गरेको छ । चित्रकलामार्फत हेटौंडाको प्रचारप्रसार गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्ग, हेटौंडा–१० स्थित नेपाल ट्रष्टको पर्खालमा चित्रकोर्न सुरु गरिएको हो । चित्रकलामार्फत् हेटौंडा नगरलाई सुन्दर बनाउने अभियान अनुसार विभिन्न वडामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचानलाई समेटेर चित्रकोर्न लागिएको उपमहानगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।
एकसय वर्ष पुरानो चुरियामाई सुरुङ, चुरियामाई मन्दिर, भुटनदेवी मन्दिर पर्यटकीयस्थल गुम्बाडाँडा, मकवानपुरको पहिचान काठको ठेकी लगायत पहिलोचरणमा १७ सय स्क्वारफिट क्षेत्रमा १५ वटा चित्र कोरिने उपमहानगरले जनाएको छ । चित्र निर्माणको काममा उपमहानगरले ४ लाख ६८ हजार ३५३ रुपैयाँमा ठेक्का लगाएको हो ।