पालुङ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

हेटौंडा- मकवानपुरको थाहा नगरपालिका स्थित पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेन । बिहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरेपनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले बिहान ६ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो ।यस्तै निर्वाचन गराउन बिहानैदेखि असहज परिस्थिति निर्माण भएको भन्दै निर्वाचन समितिले मध्यान्ह राजिनामा दिएको थियो । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की, मीना महर्जनले संयुक्त राजिनामा दिएका हुन् ।
निर्वाचन गराउन बिहान १० बजे थाहा नगरपालिका कार्यालयमा चार दलको प्रमुख सहित छलफल भएपनि निष्कर्ष निकाल्न सकेनन् । अखिल क्रान्तिकारी र छैटौंका विद्यार्थी निर्वाचन गराउनुपर्ने भन्दै गेट खोलेर भित्र पस्दा स्थिति केहीबेर तनाबग्रस्त बन्न पुगेको थियो ।साँझ क्याम्पस प्रशासनले अनेरास्ववियु र नेविसंघको कारण चुनाव हुन नसकेको जनाउदैपरिस्थिति असहज भएकोले निर्वाचन स्थगित भएको सूचना जारी गरेको छ । ७२ जना मतदाता रहेको क्याम्पसमा तालाबन्दीसँगै निर्वाचन अनिश्चित बनेको हो । नेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुबिना खत्री अध्यक्ष पदका उम्मेदवार थिए ।