हेटौंडामा ३९० घण्टा ब्युटिपार्लर तालिम सुरु

हेटौंडा-मकवानपुरको हेटौंडामा ३९० घण्टा आधारभूत ब्युटिपार्लर तालिम सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम भएको हो ।सूर्यमणि प्राविधिक शिक्षालय प्रालिको आयोजनामा भएको तालिममा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका २० जना महिला सहभागिता रहेको कार्यक्रम संयोजक मेनका श्रेष्ठले जानकारी दिइन् । तालिम व्यवस्थापन र सीप परीक्षणका लागि सीटीइभीटी र हेटौंडा उपमहानगरपालिकाले ६०÷४० प्रतिशत आर्थिक सहयोग प्रदान गरेका छन् ।
महिलालाई स्वदेशमै स्वरोजगार तथा आत्मनिर्भरतामा सघाउने उद्देश्यले थालिएको तालिमको हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन् गरिन् । तालिम उद्घाटनमा नगरप्रमुख लामाले प्राकृतिक सौन्दर्यको सामग्री प्रयोग गरी व्युटी पार्लर क्षेत्रलाई व्यावसायिक बनाउन तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गरिन् ।प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) का प्रमुख शान्ति लामाले महिलालाई आफ्नै ठाउँमा सीप सिकेर स्वरोजगार हुन तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरिन् ।