अधुरा योजना सम्पन्न गर्नुपर्नेमा मन्त्री खड्काको जोड

हेटौंडा- बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले अधुरा योजनालाई सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।बिहिबार हेटौंडामा भएको खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको दोश्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री खड्काले नयाँ योजना सिफारिस गर्ने भन्दा पनि विगतदेखि नै अधुरा रहेका योजनालाई पूरा गर्नुतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘संघीय सर्तका योजना होस् या प्रदेशको योजना होस् अधुरा योजनालाई सम्पन्न गर्नेतर्फ हामी अगाडि बढ्नुपर्छ’ उनले बताए । प्रदेश
सरकार अहिले बजेट बनाउने चरणमा रहेको बताउँदै उनले अधुरा योजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत पेश गर्न पनि डिभिजन प्रमुखहरुलाई आग्रह गरे । ‘हाम्रो मन्त्रालय विकासे मन्त्रालय हो, अलिअलि बेरुजु देखिनु सामान्य हो’ उनले भने । मन्त्री खड्काले कामको सिलसिलामा देखिएका बेरुजु रकमलाई पनि कम गर्ने गरी काम गर्न डिभिजन प्रमुखलाई निर्देशन दिए । जनताले सेवा, सुविधा पाउने योजनालाई प्राथमिकता दिनुपर्ने मन्त्री खड्काले बताए । विगतमा जस्तो राजनीतिक पहुँचको आधारमा नभई आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्नेमा उनको जोड थियो । आयोजना बैंक स्थापनापश्चात् टुक्रे योजना कम हुने उनको भनाई छ तर, जनताले सेवा पाउने, नगरी नहुने टुक्रे योजनालाई खानेपानी मन्त्रालयले भने अगाडि बढाउने मन्त्री खड्काले बताए ।
‘अर्थमन्त्रीज्यूले पनि खानेपानी बाहेक अन्य क्षेत्रमा २५ लाख भन्दा कमको योजना नहाल्ने भनिसक्नुभयो’ उनले भने । भौगोलिक अवस्थाको कारण पनि ५ लाखको योजनालाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको उनले जिकिर गरे ।मन्त्री खड्काले गत असोजमा आएको विपद्को कारण ३ अर्ब ४३ करोडको संरचना ध्वस्त भएको समेत बताए । विपद्को रकम नआउँदा आफुहरुलाई पुनंर्सरचनाको काम गर्न समेत अप्ठ्यारो परेको उनले उल्लेख गरे ।
मन्त्रालयका सचिव मोहनकुमार शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रममा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तथा खानेपानी सरसफाईका प्रमुखहरुले कार्यप्रगति प्रस्तुत गरेका थिए । मन्त्रालयको पछिल्लो ८ महिनाको अवधिमा कूल विनियोजित बजेटको २७ दशमलब ७४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालूतर्फ ४९ दशमलव ५५ प्रतिशत र पूँजीगततर्फ २६ दशमलव ७४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी कार्यालयगत रुपमा २७ दशमलब ७४ प्रतिशत वित्तीय प्रगति र ४५ दशमलब ०८ प्रतिशत भौतिक प्रगति भएको छ ।