जलवायू परिवर्तनको कारण असोजमा बाढीपहिरो आयोः मन्त्री सिलवाल

साझाकुरा
२०८१ चैत्र ७, शुक्रबार ११:३१

हेटौंडा- बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले जलवायू परिवर्तनका कारण नेपालले ठूलो प्राकृतिकविपत्तीको सामना गर्नुपरेको बताएका छन् ।जलवायू परिवर्तनको असरस्वरुप वर्षा सकिएपछि असोजमा बाढीपहिरो जस्ता विपत्ती आएको उनको धारणा छ । संघीय वन तथा वातावरण मन्त्रालयको आयोजनामा बिहीबार प्रदेश राजधानी हेटौंडामा आयोजित जलवायू परिवर्तनका लागि नेपालको तेस्रो राष्ट्रिय निर्धारीत योगदान (एनडीसी) तथा सगरमाथा संवादको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिलवालले बेमौसमी विपत्तीले बागमती प्रदेश १० वर्ष पछाडि धकेलिएको बताए । मन्त्री सिलवालले अन्य देशले गरेको कार्बनडाइअक्साइडलगायतका हरितगृह ग्यास उत्सर्जनको सजाय नेपालले भोग्नुपरेको जिकिर गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय जलवायू व्यवस्थापन महाशाखा उपसचिव प्राध्यापक नरेश शर्माले नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदानको आवश्यकता, एनडीसी अवलम्बन प्रक्रिया, मार्गदर्शक सिद्धान्त, एनडीसी २०२५ निर्माणको कार्ययोजना, मस्यौदा प्रतिवेदनमा समेटिएका विषय, हरितग्यास उत्सर्जन न्यूनीकरणका लक्ष्य, जलवायू परिवर्तनको प्रभावलागायत बारेमा प्रस्तूतीकरण राख्नुभएको थियो ।

जलवायू परिवर्तनको कारण निम्तिएको विपत्तीका कारण सन् २०२४ मा नेपालमा २ सय ३९ जनाको मृत्यु भएको, १ सय ७८ जना घाइते तथा ११ हजार परिवार विस्थापित हुन पुगेको बताइएको छ । प्रतिवेदन अनुसार नेपालका ४७ हिमताल अझै पनि खतरासूचिमा रहेको जनाइएको छ । कार्यक्रममा आउँदो जेठ २, ३ र ४ गते आयोजना हुन लागेको सगरमाथा संवादको बारेमा पनि जानकारी गराइएको थियो । संवाद जलवायू परिवर्तनले पारेको प्रभाव, समावेशी समाधान, अन्तर्राष्ट्रिय समन्वय र सहकार्यलगायतका विषयमा केन्द्रित रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*