‘प्रतिष्ठानबाट सुविधा लिएर त्यसको कर्मचारी हो भन्न नसक्नेले राजीनामा दिनुपर्छ’

साझाकुरा
२०८१ चैत्र ९, आईतवार १२:५४

हेटौंडा- बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको निजी स्वार्थको कारण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिरोध भइरहेको बताएका छन् ।राजनीतिक पूर्वाग्रह राखेर केही तत्वहरुले प्रतिष्ठानको विरोध गरेको गरिरहेको उनको बुझाई छ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल जिल्ला समिति मकवानपुरको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले प्रतिष्ठानको विरोधमा केही पक्षको निहितस्वार्थ लुकेको बताए । विगतदेखि हेटौंडा अस्पतालमा भइरहेको चलखेल अन्त्य हुने डरले केही तत्वहरु प्रतिष्ठानको बिरुद्धमा लागेको उनको धारणा छ ।

कतिपय चिकित्सकले पनि आफूलाई प्रतिष्ठानको कर्मचारी भन्न नसकेकोमा समेत उनले असन्तुष्टि व्यक्त गरे । प्रतिष्ठानबाट सेवा सुविधा लिएर प्रतिष्ठानको कर्मचारी हो भन्न नसक्नेले तत्काल राजीनामा दिन पनि उनले सुझाव दिए । फरक प्रसंगमा पूर्वमुख्यमन्त्री पौडेलले एमालेको नेतृत्वमा सरकार बन्दा मात्र परिवर्तनको संकेतहरु देखापर्ने बताए तर, राजनीतिक नेतृत्वको चाहानामा मात्रै काम गर्न नसकिने उनको भनाई छ ।

ज्ञानेन्द्रकालीन ब्युरोक्रेसीको चिन्तन र मानसिकताको कारण अहिलेको नेतृत्वले काम गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ । पूर्वमुख्यमन्त्री पौडेलले आफ्नो नेतृत्वको सरकारले ४२ महिनामा गरेको काम अबको ४२ वर्षमा पनि हुन नसक्ने दाबी गरे । प्रदेश राजधानीमै सरकार र मन्त्रीहरुलाई भेट्न मुश्किल भएको उनले बताए । पूर्वमुख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीको सानो त्रुटीबाट पनि गम्भीर घटना हुन सक्ने भएकोले जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिए ।

त्यसैगरी बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश निजामती सेवा ऐन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधनको प्रक्रियामा रहेको बताए । उनले स्वास्थ्यक्षेत्रको विकासमा प्रदेश सरकार लागिरहँदा स्वास्थ्यकर्मीको पेशागत हकहितको विषयलाई उत्तिकै प्राथमिकता राखेको बताए । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । आगामी नेतृत्वका लागि स्वास्थ्यकर्मी संघको अध्यक्षमा उत्सव चौंलागाईं सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी पौडेल, सानी मोक्तान, सचिवमा हीरा तामाङ, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेलसहित १५ सदस्यीय टोली चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*